कर्णाली राजमार्ग: कहिले निको नहुने घाउ

बिएल
भिजिट नेपाल २०२० शृङ्खला -३
 

२०७६ चैत २९ गते कर्णाली राजमार्गमा गाडी गुड्न थालेको १३ वर्ष पुरा हुुँदैछ, २०६३ चैत २९ गतेको मितिबाट गणना गर्दा। उखानै छ ‘बाह्र वर्ष खोला पनि फिर्छ’। तर कर्णाली राजमार्गको स्थिति वर्षसम्म पनि जस्ताको तस्तै छ।

कर्णालीका मान्छेले गाडीभन्दा कयौं अगाडि हवाईजहाज देखेका र चढेका हुन्। धेरैलाई हवाईजहाज चढ्नु निकै ठुलो कुरा हो तर जुम्ली र कर्णालीका मान्छेको लागि सामान्य हो। संसारको महंगो शुल्क तिरेर हवाई यात्रा गर्दा पनि कर्णालीलाई कुनै पिरलो थिएन। तर कर्णालीका मान्छेलाई गाडी देख्नु र चड्न पाउनु ठुलो कुरा थियो। त्यसैले कर्णालीको एक सुत्रीय माग रह्यो, कर्णाली राजमार्ग।

२०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो। २०४८ सालबाट राजमार्ग निर्माणको काम सुरु गरियो। सुरुको वर्षमा सडक निर्माणको लागि २ करोड बजेट विनियोजन गरी काम थालिएको थियो। २०५६ सालमा विश्व बैंकले सडकमा हात हालेपछि राजमार्ग निर्माणले तीव्रता पायो। सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको काम गर्न सेकन। पछि सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो र ट्रयाक खुल्यो।

त्यसबेला तातोपानी–३ का ६५ वर्षीया बृष कठायतले जुम्लामा मोटर बाटो पुग्ला भन्ने सोचेका थिएनन्। हवाइ जहाजबाट खलंगामा आएको दैनिक उपभोग्य समान खरिद गर्न एक दिनको बाटो हिडेर बजार पुग्थे। बजार बास बसेर भोलिपल्ट दैनिक उपभोग्य सामान खरिद गरेर भारी बोकेरै घर पुग्थे। अहिले उनका घरै अगाडि सामा न पाइन्छ। पुराना दिन सम्झिदै भन्छन्,– ‘कुडा (कुरा) त धेरै पहिलेदेखि गरेका हुन्। गाडी अब आउन्या भैगो भुनी धेरै मान्ठले कुडा गरेका हुन। गाडी आएन। आश मर्‍याको छियो। तर अहिले गाडी आएपछि त अनौठो लाग्यो।’

नुन ल्याउन भेडा लिएर लेक, गाड (नदि) गरेका सिंजा कालिकाखेतुका उमाकान्त न्यौपाने तराईमा गाडी गुडेको र कालोपत्रे भएको राजमार्ग देख्दा जुम्लामा पनि यस्तै भैदिएको भए सोच्थे। समयले आफ्नै घर अगाडीबाटै गाडी त गुड्यो तर त्यो सँधैको लागि चिन्ताको विषय बन्यो। ‘कोही घरका जहान गाडीमा यताउता गएपछि झर्को मात्तै लाग्न आँट्यो। मन सन्तोष कहिले हुनैन (हुँदैन)। क्याप प हुन्या हो भुन्या लाग्दोछ।’ उनले आफूले भोगको कुरा यसरी सुनाए।

यसरी राजमार्ग संचालनमा आएको १३ वर्ष पुगेको छ। यद्यपि राजमार्ग संचालन आगाडिको अवधि विरबलको खिचडी जस्तै थियो। आरामदायी यात्रा अहिले पनि आकाशको फल भएको सिंजा लाहर्जका गोविन्द शाहीले बताए। उनी केही समयअघि घुम्ति व्यापारको लागि चितवन गएका थिए। सोही क्रममा पाएको सास्ती शब्दमा व्यक्त गर्नु बेकार रहेको बताए।

२०६९ भदौ २८ मा कालिकोटको सेराबाडा नजिकै वित्तामोडमा भएको गाडी दुर्घटनामा २७ जनाको ज्यान गयो। त्यसपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले १८ महिनामा कालोपत्र गरि सक्ने बचन दिए। काम अगाडि बढ्यो। विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिड्किज्यूलासम्मको कालोपत्रे पहिल्यै भैसकेको थियो। पछि विश्व बैंकको ऋणमा खिड्किज्यूला देखि जुम्ला खलंगासम्म कालोपत्रे गरियो।

तर बेलैमा पुल बनेनन्। वर्षामा पहिरोका कारण यात्रुले पाएको सास्तीका सयौं समाचार बने। जुम्लादेखि खिड्किज्यूलासम्मको नयाँ कालोपत्रे पनि एक वर्ष नपुग्दै उक्कियो। परिणाम राजमार्ग वर्षामा हिलो र हिउँदमा धुलो हुने भैरहेको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ।

‘जुम्लामा गाडी हिड्न्या बाटो पुगेपछि यहाँका सबै खुसी छिया। देश विदेशका मान्छेले कर्णालीमा बाटो पुग्छ भनि थाहा पाए,’ यात्रुले भोग्दै आएको पीडालाई न्यौपानेले भने, ‘तर राजमार्गको संरक्षण गर्ने र राम्रो बनाउने विषयमा सकारले ध्यान नदिएपछि हामी निराश छौं।’

पछिल्लो समय स्थानीयहरु सरकार र सम्बन्धित निकायप्रति आक्रमक छन्। कर्णाली राजमार्गलाई मृत्यु मार्ग (ज्यानमारा मार्ग) नामाकरण गरिरहेका छन्।सुर्खेत–जुम्ला सडक संचालन यता १ सय ९६ पटक सडक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ। ट्राफिकका अनुसार सबैभन्दा बढी कालीकोट खण्डमा ९६ दुर्घटना भएका छन् भने दैलेखमा ३७ र जुम्लामा ६३ घटना भएका छन्।

सुर्खेतको बांगेसिमलबाट सुरु भएर सदरमुकाम खलंगा पुग्ने २ सय ३२ किलोमिटर सडकमा १ सय ३४ जनाले दुर्घटनामा परि ज्यान गुमाइसकेका छन् भने २ सय ८७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले भन्छ। प्रस्तुत तथ्यांक र स्थानीयको कथनले कर्णाली राजमार्ग साँच्चिकै मृत्यमार्ग हो भन्ने भान हुन्छ।

कालोपत्रे उक्किएपछि अधिकांश ठाउँमा खाल्डाखुल्डी परेका छन्। यसले गाडी चलाउन निकै समस्या छ। छोटो दुरी पार गर्नको लागि लामो समय खर्चिनु परिरहेको छ। ‘सडक स्तरीय भए ७ घण्टामा सुर्खेतबाट जुम्ला पुगिन्थ्यो,’ व्यवसायी दीपेश अधिकारीले भने, ‘बाटैभरि खाल्डाखुल्डी हुँदा र चौडा सडक नहुँदा १२ घण्टामा पनि जुम्ला पुग्न मुस्किल हुन्छ।’

राजमार्गको स्तरउन्नति भएको छैन भने अधिकांश मोडहरु साँघुरा छन्। गाडी ‘ब्याक’ गर्नुपर्ने बाध्यता रहेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष मीनबहादुर थापाले बताए। ‘दुई दिनमा सुर्खेतबाट गाडी खलंगा पुग्छन्, राजमार्ग सुरुमा जस्तो थियो उस्तै छ। गाडी बिग्रिरहने समस्या छ,’ उनले भने, ‘अधिकांश कालोपत्रे उक्किसकेकाले धुलैधुलोमा यात्रा गर्नुपर्ने बाध्यता छ।’

नेपाली सेनाले ट्रयाक खोलेपछि तत्कालिन योजना आयोगका उपाध्यक्ष जगदिश शर्मा, प्रधान सेनापति रुङ्गमागत कटुवाल सहितको टोली राजमार्ग हुँदै दर्जनौ गाडीमा खलंगा पुगेका थिए। त्यसबेला हजारौं कर्णालीबासी राजमार्गमा ओर्लिए। सयौंको संख्यामा स्वागत द्वार बनाइए। बाजा गाजा, फुल माला अबिरसहित गाडीलाई खलंगा भित्र्याइयो। शर्मा र कटुवालले ट्रयाकको उद्घाटन गरेका थिए। त्यसपछिका दिनहरुमा झन् राम्रो होला भन्ने सोचिएपनि कुनैपनि सुधार भएको छैन।

जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जबअली मनिहारले सामान ढुवानी सहज भएपनि यात्रा निकै कठिन हुने गरेको जानकारी दिए। ‘जहाजबाट ढुवानी गर्दा प्रतिकेजी ७० रुपैयाँ तिर्दै आएका थियौं। सडक संचालनमा आएपछि ५ देखि १० रुपियाँसम्म पर्छ। सामानको मूल्य पनि सस्तो भयो। स्थानीयले पनि सुविधा पाए,’ उनले भने, ‘सडक अधिकांश ठाउँमा बिग्रएको कारण यात्रा अझै सुरक्षित हुन सकेको छैन। स्तरोन्नतिका लागि सरकारले ध्यान दिएन।’

उनले सडकमा एउटा गाडी बिग्रिए घण्टौं जाम हुने समस्या छ। सडक एक लेनको मात्र हुँदा पनि यात्रा कष्टकर हुने गरेको हो। कुनै ठाउँमा पहिरो खस्दा हप्ता दिनसम्म राजमार्ग अवरुद्ध हुने गरेको उनी सुनाउँछन्।

सरकारले सन् २०२० लाई 'नेपाल भ्रमण वर्ष' मनाउने भव्य तयारी गरिरहेको छ। त्यसका लागि प्रसिद्ध पर्यटकीय स्थलहरु सार्वजनिक गरिसकेको छ। प्रदेश सरकारले पनि सोही अनुसार गतिविधि गरिरहेको छ। स्थानीय सरकार पनि प्रतिबद्ध छन्। सरकार २० लाख पर्यटक भित्र्याउने धाउन्नमा छ भने कर्णाली प्रदेश सरकारले पनि एक लाख पर्यटक भित्र्याउने लक्ष लिएको छ।

यद्यपि रारा कर्णाली पर्यटन वर्ष–२०७५ पूर्ण रुपमा असफल भैसकेको छ। यसले प्रदेश सरकार पर्यटन वर्षको उद्घाटन कार्यक्रमको खर्चकै विषयमा आलोचित भयो। पूर्वाधार निर्माणमा ध्यान दिइएन। यसले अपेक्षा अनुसार पर्यटन भित्रनेमा संसय उत्पन्न हुन्छ। बाटोघाटो, होटल, पर्यटकलाई गरिने व्यवहार आदिबारे थुप्रै कमजोरी देखिएका छन्। एकपल्ट आएको पर्यटक फेरि नआउने र उसले अरुलाई आउने वातावरणमा पनि प्रभाव पार्ने भएकाले कमसल र कम स्तरीय सडकले पर्यटन वर्षलाई समेत प्रभाव पार्ने देखिन्छ। अब पनि सोचिएन भने अबेला भैसकेको हुनेछ।

प्रकाशित मिति: : 2019-12-06 09:47:18

प्रतिकृया दिनुहोस्