अत्ति गर्‍यो! छुई कुप्रथाले

तस्बिर: बिएल

मध्य र सुदूर पश्चिमका केही पहाडी तथा हिमाली जिल्ला छुई (छाउपडी) प्रथाले बदनाम भए। छुइकिल्लो (छाउगोठ) मा ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। यसको पछिल्लो उदाहरण केही दिनअघि अछाममा ज्यान गुमाएकी साँफेबगर नगरपालिका ३ कि पार्वती बुढा रावत हुन्।

यीलगायत विगतमा जति पनि महिलाले छुई हुँदा ज्यान गुमाए, ती सबै सुदूर र मध्य पश्चिमलाई बदनाम गर्ने प्रतिनिधि घटना बने। तसर्थ यो लेख यही विषयसँग सम्बन्धित छ।

केही वर्ष पहिले, जुन बेला मलाई विद्यार्थी राजनीतिले उडाएर गाउँगाउँ पुर्‍याएको थियो। त्यो बेला हाम्रो दिउँसोको बसाइँ स्कुलका विद्यार्थीसँग र साँझको बसाइँ समुदायमा हुन्थ्यो। जसले गर्दा हामीलाई दुबैसँग साक्षात्कार हुने अवसर जुर्‍याे। त्यही सिलसिलामा एक पटक हेमराज धिताल, सुनिल काफ्ले र म सिंजाको जोडु गएका थियौं। त्यो साँझ हाम्रो बास जोडु स्कुलका हेडसर नरबहादुर बुढाको घरमा भयो। उनको घरमा लामा देउताको थान थियो। यस्तै अरू नामका (लामा, माहदेव, र मष्टो) थान त्यो गाउँमा धेरै छन्।

त्यो दिन हेडसरकी जहानले दिउँसै भनेकी थिइन्, ‘आइ (आज) धुमेलो छ।’ उनको कुराले धुमेलो गरेको ठाउँमा बस्ने इच्छा जगाएको थियो। मैले उनलाई भने, ‘हामीलाई पनि बोलाउनु होला है।’

साँझको खाना पश्चात हाम्रो सुताई पाँडमा (घरको तेस्रो तला) भयो। सुतिरहेका हामीलाई रातको १२ बजे सरकी छोरी बोलाउन आइन्। हेमराज र सुनिल सुतिसकेका थिए। दिउँसो त उनीहरुले पनि इच्छा गरेका थिए। तर, पछि उठ भन्दा जाने मन गरेनन्। म एक्लै गएँ।

धुमेलो गर्ने ठाउँमा टोलभरीका मान्छेको भेला थियो। धामी शुल्पामा तमाखु हालेर धुँवा तानिरहेका थिए। सामान्यतया धामीहरू हुक्का, शुल्पा वा चुरोट नतानी पतुर्दैनन्। अपवादबाहेक सायद सबै धामी अम्मली नै हुन्छन्।

धामी मौन थिए। धामीको मौनताले देउता सितिमिति नआउला जस्तो संकेत गरेको थियो। पालीहरू (देउता मान्नेहरू) ‘नारायण गोसाईंय आइदिनु पड्यो। हरायौं, बिरायौं।’ भनिरहेका थिए।

लगत्तै एक जना एक खुट्टे लगाएर उभिए। यसो गर्नु देउता मान्ने पालीले धामीलाई रिजाउन गर्ने उपाय हो। पालीले आफूले गल्ती गरेको छु भनि स्वयमलाई दिने सजाय र एक खालको अनुनय विनय पनि हो। जसले धामी मनाउन सहज बनाउँछ।

त्यसको केही समयपछि धामीले हकारे, हैु !!!टु गरेर। लगत्तै डाँग्रीले उनको टुप्पीमा तेल लगाइदिए। डाँग्रीले तेल लगाइदिनु भनेको धामीलाई चोखो पारिदिनु हो। लगत्तै उनी पतुरे। पतुर्दा गर्ने आफ्नो पाठ सकाए। जो कसैले नबुझ्ने खालको थियो। पाठ सकाएका उनी अक्षता केलाउँदै बिरामी हेराउन लागे। तर उनीसँग हेराइ माग्नेमा टोल भरिका थिए। जसमा धेरैजसो महिला, बुढाबुढी केटाकेटी थिए। जसलाई धामी एकएक गरि हेराउन बसे। पालो सबैको आयो र सबैले आ–आफ्नै समस्या राखे। जसमा आफ्नो शरीरमा बिसन्चो रहेको, घरपालुवा चौपायादेखि पन्छीलगायत गतिला नभएको र बालीनाली नसप्रेको लगायतका घरायसी समस्या थिए।

धामी भने बिरामी परेका अनुहार र केटाकेटीका फुलेका पेट हेर्दै अनुमानका भरमा तिनीहरुलाई शान्त पार्दै थिए। कतिले अघिल्लो पटक हेराउँदा धामीले अनुमानको आधारमा भनेका कुरा मिलेपछि तिनीहरुबाट जस खाँदै थिए। मेल नखाएकालाई धैर्य गर्न लगाइरहेका थिए। कतिलाई आफूले भने अनुसार नगरेर विगारेको भन्दै जरीवाना पनि तिराउँदै थिए।

कसैको आनीबानी बिग्रेको छ भने तिनलाई हप्काउँदै थिए। कतिका कान फुकिरहेका थिए। यो क्रम चलिरहेको थियो। म यी सबै गतिविधि कुनाबाट हेरिरहेको थिएँ। त्यही बीचमा मेरो पनि पालो आयो। उनले मलाई, ‘तँ पाली होइनस्, पाउनो होस्,’ भने। मेरा खास माग केही थिएनन्। छुट्टै आशा र भरोसा पनि थिएन। तर, उनले ‘तेरो मनोकामना पुरा हुनेछ,’ भन्दै अक्षता दिए। ‘केही यात्रा भरी रोखेस्, केही अहिले भोग गर,’ भने। यतिन्जेल मलाई धामी स्वभाविक लागेका थिए।

जिल्लाभरिमा स्वास्थ्य र उपस्वास्थ्य चौकी गरि ३० वटा छन्। जसमा दुई वटा जति स्वास्थ्य चौकी र बाँकी उपस्वास्थ्य चौकी पर्छन्। ती पनि सोमबारे औंसी जस्ता छन्। कति स्वास्थ्य चौकीमा अहेब हुन्छन्। कति पियनको भरमा चलिरहेका छन्। कति महिनौं बन्द हुन्छन्। नामका स्वास्थ्य र उपस्वास्थ्य चौकीले जनताको स्वास्थ्यसँग खासै सरोकार नराखेको अवस्थामा गाउँलेसँग उपचारको एउटा मात्र विकल्प देउता बने।

कयौं पटक यिनले मानसिक रुपमा कमजोर भएकालाई अदृश्य शक्तिको नाममा मनोवैज्ञानिक उपचार गरेका पनि छन्। यस्तो अवस्थामा धामीको भूमिका साह्रै गुनलाग्दो हुन पुग्यो।

म पछि जब एक जना महिलाको पालो आयो। हेर्दै बिरामीले वर्षौ थला परे झैं देखिने उनी विलौना गरिरहेकी थिइन्, ‘नारायन गोसाईंय एक विसेक भएन। गोठा चौपायादेखि पाँडा भुङ्गेडा (भँगेरा) सुम्मलाई एक निको हुँनैन। सप्पा (राम्रो) गद्दिनु पड्यो।’

धामीले बम्किदै भने, ‘दोष तेरै हो। घर चोखो निउतो गद्दिनै, छुई छाई गद्दिछै। मोकन (मलाई) हेला गर्‍यैछै। अब, मो क्या भुनुँरु।’

ती महिलाको घरमा लोग्ने मान्छे थिएनन्। केटाकेटीको स्याहार सुसार गर्दा उनले ती सबै रित पुर्‍याउन सकिनन्। उनलाई निको नभैरहेको रोगकाे दोष जति जम्मै छुई हुँदा गरिएको काम धन्दा बन्यो।

अघिसम्म स्वभाविक लागेका धामी मलाई एकाएक अस्वभाविक लाग्न थाले। उनीप्रतिको सम्मानभाव र सदासयता घटिरहेको थियो। उनले ती महिलाको बाध्यता बुझिरहेका थिएनन्। बरू उल्टै त्यसलाई अपराध करार गरिरहेका थिए। जुन ती महिलाको लागि सधैंको पिरालोको बनिरहन्थ्यो। त्यसपछिका अरू सबै महिलालाई बिरामी हुनु उनीहरुले गर्ने छुईछाई नै कारण बनाए। धेरैजसो धामीले महिलालाई लगाउने दोष छुई छाई नै हो। जुन महिलामाथि गरिने मानसिक हमला बनेको छ।

धामी र देउताका कारण महिला छुई भएको बेला घरमा पस्नु डरको विषय बन्यो किनकी घरभित्र पस्दा देउता रिसाउँछन् र अनिष्ट हुन्छ, देउतालाई गरिने वेवास्ताले ज्यान जान्छ, जस्ता मनोवैज्ञानिक त्रास उत्पन्न गराइन्छ। कतिपय महिला छुई भएको बेला अत्याधिक रक्तश्राव हुने जस्ता समस्याका कारण छुई हुनु र गर्नुलाई बनाइन्छ।

यसले गर्दा महिला सितिमिति घरभित्र पस्ने आँट गर्दैनन्। यदि आँट गरिहाले पनि धामीले दोष लाउन छोड्दैनन्।

खासगरी धामी र डाँग्रीलाई छुई प्रथाको ढोकापाले भनिन्छ। समयक्रममा विकास भएको छुई प्रथामा धामी र डाँग्रीले खेलेको भूमिकाले यसलाई पुष्टि समेत गरेको छ। तर धामी, डाँग्री र मष्टो परम्पराबारे अध्ययन गर्दा प्रारम्भमा छुई प्रथा मान्ने गरेको देखिँदैन। कुनै पनि धामी वा देउताको पाठ वा पड्यौलीमा यस्तो केही भेटिँदैन। बाबिरो मष्टोको पड्यौलीमा ‘सात वर्षे कन्या रजस्वला हुनेछ। दस वर्षे कन्या गर्भिणी (गर्भवती) हुनेछ’ भन्ने खालको भविष्यावाणी भेटिन्छन्। छुई मान्नुपर्छ भन्ने छैन। तर, कालान्तरमा तीनै बाबिरो मष्टोका धामीसमेत छुई हुनेलाई दोष लगाउँदैछन्।

यो किन भइरहेको छ। यस सन्दर्भमा संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य ‘मातृ सत्ता, पितृ सत्तामा रुपान्तरण हुँदा महिलालाई विभिन्न खालका बन्धनमा बाँधिएको र त्यसै क्रममा महिलाको महिनावारी चक्रमा समेत बन्धनको खेल भएको बताउँछन्। प्रकृतिलाई पूजा गर्ने मष्टो परम्परामा छुई मान्ने चलन थिएन। धामीहरु मष्टोका प्रतिनिधि र सामाजिक नेताका रुपमा मानिए। पितृ सत्ताले महिलालाई दबाउने गतिलो हतियार छुई नै हुने देखेपछि उनीहरूमार्फत छुई मान्नुपर्छ भन्न लगाइएको हुनुपर्छ। यो पितृसत्ताकै उपज हो। जुन कुराले हाम्रो मानसपटलमा अहिलेसम्म गहिरो छाप छोडेको छ।’

कतिले छुई किल्लो (छाउगोठ) को विषयलाई लिएर छुई प्रथालाई मष्टो परम्परासँग जोड्ने गरेका छन्। तर, त्यो छुई व्यवस्थापनको एक उपाय मात्रै हो। खस सभ्यतामा महिलाको पहिरन गुन्यूँ चोलो हो। भित्री बस्त्र पेटीकोट हो। महिनावारीको समय बग्ने र उक्त रगत सबैतिर देखिने हुनाले त्यसलाई व्यवस्थापन गर्ने ठाउँ छुइकिल्लो हो। अहिलेको जस्तो पेन्टी र प्याडको समय नभएको बेला अपनाइएको छुइकिल्लोलाई पछि ठालु र पितृसत्ताका पहरेदारले निहुँ बनाए।

महिनावारीको व्यवस्थापन गर्न उपयुक्त साधनको विकास नभएको मौका छोपी पितृसत्ताले कायम गरेको छुई प्रथाले पनि लामो कालखण्ड पार गरेका छ। यसको प्रभाव गाउँघरमा मात्र होइन। सहरमा पनि छ। स्कुल कलेजमा छ। कर्मचारीमा छ। हाल आएर कतिपय महिला छुई भएको समयमा आमा, बाबु महिनावारी केही होइन घरमा बस्छौं भन्दा देउताको बारेमा धामीले भनेका कुरालाई लिएर उल्टो थर्काउँछन्।

तसर्थ उनीहरुले केही समय छुई लुकाएका पनि थुप्रै उदाहरण भेटिन्छन्। तर, त्यसो गरेबापत तिनीहरूले खेप्नुपर्ने खप्की पनि कम्ता पीडादायक छैनन्। यदि कुनै महिला विवाहित हो र कसैलाई नभनेर छुई लुकाएमा ऊ गर्भवती रहेको शंका गरिन्छ। सुत्केरी नभएमा गर्भ तुहाएको आरोप सहनुपर्छ। अनेक थरी कुरा काट्न थालिन्छ। यदि अविवाहित हो भने उसको कुमारीत्वलाई लिएर अनेक प्रश्न गरिन्छ र घरमा बसिखानु हुन्न।

छुई मान्नु हुन्न भन्ने थाहा पाएकी चन्दननाथ नगरपालिका १० की सम्झना भण्डारी पनि छुई लुकाउन सक्दिनन्। उनी भन्छिन्, ‘सबै थाहा पाइकन पनि छुई बार्नु परिरहेका छ। एक पटक लुकाइयो भने त्यसले देखाउने असर बाँचुन्जेललाई हुन्छ।’

नेपाली समाज त्यसमा पनि मध्य र सुदूरपश्चिमी समाजको विकास एकदम कमजोर रह्यो। गास, बास र कपासको अभावले सताइरह्यो। जसको जोहो गर्न लाग्दा मानवीय चेतनालाई विकास गर्ने अवसर मरूभूमीको पानी बराबर बन्यो। मानवीय जीवनलाई व्यवस्थित बनाउन चुनौति खडा गर्‍यो। जसमा प्राकृतिक रुपमा हुने महिनावारी पनि चुनौतिको रूपमा देखा पर्‍यो।समाजले छुई (छाउपडी) प्रथा अपनायो।

आज आएर यो प्रथा रहेन कुप्रथामा परिणत भयो। समय क्रममा समाजले यातायात, सञ्चार र शिक्षा लगाएतको क्षेत्रमा फड्काे मार्दा मानिसहरु गाउँबाट सहर पसे। जसले आफूसँगै छुईप्रथालाई पनि लगे। सहरको साँघुरो बसाइँमा यसलाई नदेखिने गरि कायम राखे भने ग्रामिण बस्तीमा यो प्रत्यक्ष देखिने गरि कायम भयो।

माथिका घटनामा गाउँको छुई प्रथा जति दर्दनाक देखिन्छ, सहरमा पनि ती घटना कम दर्दनाक छैनन्।

देउताका सिपाही बनेका धामीले महिनावारीको नाममा महिलामाथि आज पनि मानसिक रुपमा निरन्तर हमला गरिरहेका छन्। त्यसको साक्षी सिंगो समाज बनेकाे छ। जसको परिणाम महिला पुस–माघको चिसो, जंगली जनावर, स्त्रीलम्पट र यौनपिपासु पुरूषको सिकार बनिरहेका छन्। याे विषयले हामीलाई अहिले पनि गिज्जाइरहेको छ।

 

प्रकाशित मिति: : 2019-12-13 16:47:49

प्रतिकृया दिनुहोस्