आज काठमाडौंका सडकमा जोर नम्बरका सवारीसाधन मात्र

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार हुने समापन समारोहलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ।

आज जोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने भएको छ। ट्राफिक व्यवस्थापन गर्न सजिलो होस् भन्ने उद्देश्यले जोर नम्बरका मात्र गाडी चलाउन पाउने व्यवस्था गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

ट्राफिकले ठुला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेशमा पनि रोक लगाएको छ। साथै कम भन्दा कम सवारी साधन निकाल्न पनि अनुरोध गरेको छ। यस्तै पुराना सवारी साधन चलाउन र हर्न बजाउन पनि निषेध गरिएको छ।

यता, १३औं साग खेलकुदको भब्य समारोहबीच समापनको तयारी गरिएको छ। यही मंसिर १५ गतेदेखि काठमाडौं, पोखरा र जनकपुरमा चलेको साग मंगलबार साँझ दशरथ रंगशालामा विशेष समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भएको घोषणा गरिनेछ।

मध्याह्न १२ बजे सांसदहरुसँग विशेष फुटबल खेल्ने र दिउँसो ३ बजेदेखि पुरुष फुटबलको फाइनल खेल भएपछि विशेष समापन कार्यक्रम गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए।

समारोह समिति सचिव कुलबहादुर थापाले उद्घाटनमा नेपालको कला र संस्कृति समेटेकामा समापनमा भने नेपालको वीरताको गाथा प्रस्तुत गरिने उनले बताए।

उनले करिब डेढ घन्टा चल्ने समापन समारोहमा सुरक्षा निकायका विभागीय टोलीहरु तथा विद्यालयका गरी पाँच टोलीले विशेष प्रस्तुति दिने बताए।

प्रकाशित मिति: : 2019-12-10 08:42:26

प्रतिकृया दिनुहोस्