नेपाल-चीन रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता आज

फाइल तस्बिर: बिएल

नेपाल-चीन अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता मंगलबार काठमाडौंमा हुने भएको छ।

वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रियाअघि बढाउने विषयमा केन्द्रित हुनेछ । वार्ताका लागि चीनको नेशनल रेलवे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटरको नेतृत्वमा २३ सदस्यीय टोली सोमबार नै नेपाल आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुने वार्तामा नेपाली पक्षको टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन्। यो वार्ताले काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आवश्यक प्रक्रियाको टुंगो लगाउनेछ।

असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। चिनियाँ राष्ट्रपतिको भ्रमणपछिको यो पहिलो नेपाल-चीन रेल वार्ता हो।

नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी समझदारीअन्तर्गत काठमाडौं-केरुङ सुरुङमार्ग अघि बढेको हो। असारमा चौथो चरणको वार्ता चीनमा आयोजना गरिएको थियो। अघिल्लो वार्तामा चीनले काठमाडौं-केरुङ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनको ब्रिफिङ नेपाली पक्षलाई गराएको थियो। उक्त भ्रमणकै क्रममा चिनियाँ पक्षले सम्भाव्यता अध्ययनका लागि चासो देखाएको थियो।

अध्ययनका लागि सहजीकरणको माग राखेका थिए। चिनियाँ टोलीले अध्ययनका लागि रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण माग गरेको थियो। चिनियाँ राष्ट्रपतिको भ्रमणमा सम्भाव्यता अध्ययन अघि बढाउने सहमति बनिसकेको छ।

प्रकाशित मिति: : 2019-11-26 12:02:14

प्रतिकृया दिनुहोस्