उर्लाबारी –४ की कमला तामाङले एउटै धितो देखाएर करोडौं ऋण लिएको खुलासा भएको छ। साविक मधुमल्ला ५ घ को कित्ता नं. ३६११ को १० धुर जग्गा एनएमबि बैंकमा धितो राखेर केही रुपियाँ ऋण लिएकी थिइन्।
समयमै बैंकको कर्जा तिर्न नसकेपछि तामाङलाई बैंकले बारम्बार ताकेता गर्यो। बैंकको ऋण तिर्न उनले स्थानीय मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्थाबाट सोही जग्गा देखाएर ऋण लिने भइन्।
कमलाले सहकारीमा गएर ‘यहाँबाट पैसा निकालेर बैंकको कर्जा तिर्छु जग्गा डुब्न लाग्यो, जसरी पनि सहयोग गरिदिनु पर्यो’ भनिन्। सहकारीकी शेयर सदस्यसमेत रहेकी कमलाको कारोबार राम्रो थियो। होटलसमेत राम्रै चलाइरहेकी थिइन्।
नियमित रुपमा कर्जा लिँदै र नियमित चुक्ता गरिरहेको उनको आर्थिक कारोवार राम्रो भएकाले सहकारीले बिगतको कारोवारलाई हेरेर ऋण दिने निर्णय गर्यो।
असल कारोवार गर्ने सदस्य सम्झेर उनको ऋण चुक्ता गर्न आवश्यक रकम संस्थाले उपलब्ध गरायो ।
सहकारीबाट रकम लिएपछि कमला सम्पर्कबिहिन
कमलाले सहकारीबाट एनएमवि बैंकको कर्जा तिर्ने सर्तमा ऋण लगिन् । तर, उनले बैंकलाई ऋण तिरेर जग्गा उकासिनन्। यो कुरा सहकारीलाई पनि थाहा भएन।
सहकारीले बारम्बार बोलाउँदा उनी सम्पर्कमा आइनन्। त्यसपछि स्थानीय सहकारी बैंकबाट धितो मूल्याङ्कनका लागि प्रक्रिया सुरू गर्ने भन्दा कमला पछि सरिन्।
उनले २०७६ जेठ २३ गते सहकारी संस्थाबाट १७ लाख ५० हजार रुपियाँ बैंकको ऋण तिरेर जग्गा उकास्ने र सोही जग्गा रोक्का गरी सहकारीबाट कर्जा लिने सर्त गरेकी थिइन्। तर, पैसा लगेर सम्पर्कमा नआएपछि संस्थासँग नत धितो रह्यो, न पैसा फिर्ता भयो। संस्था गम्भीर अप्ठयारोमा पर्यो।
सेयर सदस्यले संस्थाका पदाधिकारीसँग गलत मनसाय राखेर कारोवार गरेपछि अध्यक्ष र सचिवले संस्थाको हित कसरी हुन्छ भन्ने उपायको खोजि गरे। २०७६ कात्तिक २२ गते चुक्ता गर्ने गरी दैनिक किस्ताबन्दीमा लगेको ऋण कमलाले नियमित तिरिनन्।
कमलाले नियमित किस्ता नतिरेपछि संस्थाको हितका लागि संस्थाबाट कमलाले लिएको ऋण र एनएमबी बैंकको ऋण अध्यक्ष पराजुली र सचिव दाहालले चुक्ता गरिदिएर कमलाको ब्यक्तिगत कारोवारको प्रक्रिया सुरू भयो।
सहकारी संस्था र बैकसँग कमलाले लिएको ऋण अध्यक्ष र सचिवले चुक्ता गरिदिएपछि कमला कै सर्त अनुसार उनको नाममा रहेको जग्गा रजिष्ट्रसेन पास गरिदिइन्।
सहकारी र बैंकको ऋण चुक्ता वापतको ३३ लाख १४ हजार ५८ रूपियाँ पराजुली र दाहाललाई फर्काएपछि कमलालाई पराजुली र दाहालले जग्गा पास गरिदिने सर्तनाम भयो।
पराजुली र दाहालका अनुसार उनीहरूले पटक पटक जनप्रतिनिधिको रोहबरमा राखेर पैसा फर्काउन आग्रह गरे पनि उनले पैसा फर्काइनन्।
एउटै घरजग्गा देखाएर धेरै जना सँग ऋण लिएको खुलासा
पैसा नफर्काए पछि दाहाल र पराजुलीले जग्गा बेचेर पैसा असुल्ने प्रक्रिया सुरु गरे। घरजग्गा देखाउन ग्राहक लिएर कमलाको घर पुग्दा कमलाको घरमा कोही ब्यक्ति बसिरहेको देखेपछि दाहाल र पराजुली तीन छक्क परे।
घरमा बसिरहेको ब्यक्तिले आफ्नो २८ लाख रूपियाँ कमलाले चलाएको र पैसा नतिरेपछि घर पास गरिदिने सर्त भएकोले घरमा बसिरहेको प्रतिक्रिया दिए। ती ब्यक्तिको प्रतिक्रिया सुनेपछि दाहाल र पराजुलीको घरजग्गा बेचेर पैसा असुल्ने योजना असफल भयो।
यो सँगै कमलाले आचार्य थरकी एक महिला सँग पनि २४ लाख रूपियाँ २४ प्रतिशत ब्याज दिने सर्तमा लिएको खुलेको छ।
श्रीमानले वैदेशिक रोजगारबाट कमाएर पठाएको पैसा ब्याजमा लगाएकी महिला अहिले टाउकोमा हात लगाएर बसिरहेकी छिन्। कमलाले बजारका विभिन्न ब्यक्तिसँग गरि करिब १ करोड बढी ऋण लिएको बुझिएको छ।
उल्टै मुद्दा दायर, कुट्ने आफैं, रूने आफैं
आर्थिक रूपमा टाट पल्टिएपछि कमलाले नाटक मञ्चन गरिन्। आफ्ना छोराहरूले आफू, पराजुली र दाहाललाई विपक्षी बनाई मुद्दा दायर गर्न लगाएकी छिन्। नाबालक छोराहरूसँग सल्लाह नगरी जग्गा राजीनामा पास गरी अर्कालाई बेचेका भन्दै मुद्दा दायर गरेको पत्र बोकेर उनी उर्लाबारीम डुलिरहेकी छिन्।
उर्लाबारी क्षेत्रमा साधारण होटल ब्यवसाय गरेर बसेकी एउटी महिलाले यतिका बिघ्न पैसा कहाँ लगानी गरिन् वा कसरी सिध्याइन् , यो अर्को खोजिको विषय बनेको छ।
यसैबीच ब्यक्तिगत कारोबारलाई सहकारी संस्थासँग जोडेर समाचार आएको भन्दै उर्लाबारी –७ को मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष र सचिवले खेद प्रकट गरेका छन्।
आइतबार र सोमबार केही मिडियामा नियोजित रुपमा संस्थालाई असर पार्ने गरी समाचार आएको भन्दै त्यस्ता भ्रामक समाचारले समाजमा एउटा उत्कृष्ठ कारोवार गरिरहेको संस्थाको भविष्य माथि खेलवाडको प्रयास भएको संस्थाका अध्यक्ष ध्रुवचन्द्र पराजुलीले बताएका छन्। उनले भनेका छन् – सहकारी संस्थाको आर्थिक कारोवार, सदस्यसँगको वित्तीय कारोवार र सहकारीको न्यूनतम मापदण्ड सम्म नबुझी समाचार आउनु खेद जनक छ । यस्ता समाचारले कसैको पनि हीत नहुने पराजुलीको ठम्याई छ ।
कमला तामाङले ब्यक्तिगत रुपमा ध्रुवचन्द्र पराजुली र मात्रिका प्रसाद दाहालसँग कारोबार गरेको संस्थाका ब्यवस्थापक अशेष कुमार थापाले आइतबार नै विज्ञप्ति प्रकाशित गरी शेयर सदस्य र सर्वसाधरणलाई जानकारी गराइ सकेका छन्। तर, पुन मिडियालाई अनावश्यक रुपमा प्रयोग गरी कमला तामाङलाई बोक्ने प्रयास भएको पराजुलीको भनाई छ ।