दृष्टिविहिन शाखा अधिकृत निरा भन्छिन्-आँखा देख्ने भए, सायद गृहणी पो हुन्थे कि! (भिडियोसहित)

बिएल

'स्वावालम्बी बनेर बाँच्ने रहर कस्को पो हुँदैन होला? यदि म आँखा देख्ने भएको भए सायद सामान्य गृहणीको जीवन बिताइरहेकी हुन्थे की?' शाखा अधिकृत निरा अधिकारीले सुरुवात यसरी गरिन्।

सबैका आ-आफ्नै कथा व्यथा हुन्छन्। फरक यत्ति हो कसैका देखिने हुन्छन्, लेखिएका हुन्छन्। कसैका मार्मिक तर नलेखिएका हुन्छन्। हामी सकेसम्म खोतल्ने प्रयास गर्छौं। आज बिएल नेपाली सेवामा यस्तै एउटा पात्र खोजेका छौ। ती हुन् माथिका वाक्यलाई बोल्ड बनाएर बोल्ने पात्र दृष्टिविहीन शाखा अधिकृत निरा अधिकारी। उनलाई आजभोली कसैसँग गुनासो छैन। किनभने दृष्टिविहीन भएर पनि आफ्नो खुट्टामा उभिन सफल भएकी छिन्। त्यो पनि देशको जिम्मेवार निकायमा।

उनले काम गर्न थालेको झण्डै १० वर्ष भैसकेकाे छ। अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भनेर हेयका दृष्टिले हेर्नेहरू र सिंगो समाजलाई दरिलो झापड दिन सकेकी छिन्। यो एक दशकको अवधिमा तालिमका लागि विभिन्न देशहरुमा पनि पुगेकि छिन्। यसले उनलाई निपूर्ण बनाएको छ। निजामती पुरस्कारबाट समेत सम्मानित भैसकेकी छिन्।

उनी यतिबेला प्रशासनिक काममा व्यस्त छिन्। ललितपुरमा डेरा लिइ दाइका छोरीहरुसँग बस्दै आएकी उनको व्यस्तता बिहान साढे नौ बजे अफिस गएसँगै सुरू हुन्छ। उनको अफिस ललितपुर महानगरपालिका हो। जब पाँच बज्छ प्रशासनिक काम सकाउँछिन् र डेरा फर्किन्छिन्।

उनले हालसम्म संस्थागत शाखा, अनुगमन तथा मुल्याङ्कन शाखा र सामाजिक सुरक्षा शाखा लगायत अन्य शाखाहरुमा काम गरिसकेकी छिन्।

उनलाई यी काम गर्दा आनन्द लाग्छ। 'सरकारी काम, कहिले जाला घाम' त ठगहरुले बनाएको नारा पो रहेछ। उनले २०६६ सालमा लोक सेवा पास गरिन्। 'पहिला अहिले जस्तो सजिलो थिएन। रिजल्ट गोरखापत्रमा आएको रहेछ। हामीसँगै पढ्दै गरेको साथिले जानकारी दिए। अनि बल्ल थाहा पाए,' आयोग पास गर्दाको समयलाई सम्झिदै भन्छिन्, 'सुरूमा पोस्टिङ महिला मन्त्रालयमा भएको थियो। त्यसबेला सहकर्मी साथिहरूलाई अपाङ्गहरुले पनि प्रशासनिक काम सजिलै गर्न सक्छन् भनेर बुझाउन गाह्रो भएको थियो।'

निकै कोशिस गरेपछि बल्लबल्ल साथिहरुले विश्वास गर्न थालेको तितो सत्य सुनाइरहेकी थिइन्। विस्तारै सबैले पत्याउन थाले। काम गर्न सजिलो भयो। 'जबसम्म नजिकबाट मान्छेले नियाल्दैन तबसम्म हामीलाई बुझ्न सक्दैन।' उनी थप्छिन्, 'हामीले विश्वास दिलाउन एक अग्नि परीक्षा पार गर्नुपर्छ।' 

रिना अरु जस्तै सबै काम स्पर्श गरेर नै गर्ने गर्छिन्। कम्प्युटर लगायत विभिन्न इलेक्ट्रोनिक सामान चलाउन अव्यस्त भैसकेकी छिन्।

लिखित परिक्षाको नतिजामा सफल भएको थाहा पाउँदा बुबाआमा निकै खुसी भएका थिए। उनको पनि खुसीको सिमा थिएन।

उनका बुबा रिटायर शिक्षक हुन्। ६ दिदिबहिनी मध्ये काइली उनी प्रयोगात्मक परीक्षा नहुन्जेलसम्म काठमाडौंको श्रमजित विद्यालयमा निमावि तहमा अध्यापन गराइरहेकी थिइन्।

उनले समाजशास्त्र र जनप्रशासन दुई विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन्। त्यसका अतिरिक्त स्नातक तहमा सोसल वर्क्स पनि गरेकी छिन्। २०५३ सालमा मछेन्द्र विद्यालयबाट एसएलसी दिएकी उनी प्रथम श्रेणीमा उतिर्ण भएकी थिइन्।

२०४३ सालमा विद्यालयबाट औपचारिक अध्ययनको शिलान्यास गरेकी पनि त्यहीँबाट गरेकी थिइन्। उनलाई विद्यालयका दिनहरु रमणीय र स्मरणीय लाग्छ।  

निरा म जस्तै जन्मजात दृष्टिविहीन होइनन्। प्रकृतिले मानिसलाई कति बेला ठग्छ पत्तै हुँदैन रहेछ। उनी त्यसबेला सात वर्षकी थिइन्। अत्याधिक ज्वरो आयो। परिणाम उनी दृष्टिविहीन बन्न पुगिन्।

घरमा हजुरआमा बिरामी थिइन्। उनी पनि बिरामी भइन्। हजुर आमाको अवस्था दयनीय थियो। परिवारले बाँच्ने आश मारिसकेको थियो। उनको हालत पनि निराशाजनक नै थियो। हजुरआमाको वितिन। उनी भने बाँचिन्। तर, देखिरहेको उज्यालो संसार अँध्यारो भयो।

परिवारले भने झाँक्रीकहाँ लगेको थियो। केही गरे पनि, नभएपछि उनका बुबाले त्रिपुरेश्वर आँखा अस्पताल लगे। डाक्टरले उनको दुबै आँखा अप्रेसन गरे। अबेला भैसकेको थियो। उनी सँधैका लागि दृष्टिविहीन भइन्। 

दृष्टिविहीन भएपनि मनको आँखाले संसार नियाल्न छोडिनन्। अधिकारी बिएल नेपाली सेवालाई भन्छिन्, 'डाक्टरले एकै पटकमा दुबै आँखाको अप्रेसन गर्न मिल्दैन रहेछ। तर मेरो दुबै आँखा एकै पटक अप्रेसन भयो।'

बाल्यकालमै आँखाको ज्योति गुमेपछि उनलाई निकै गाह्रो भयो। कि जन्मजात नदेख्ने भएको भए सजिलो हुन्थ्यो होला। तर एकपटक संसार नियालेका आँखाले सँधैको लागि कालो पर्दा सहन सजिलो थिएन।  बाल्यकालमा संसार नियालेका दिनको आज पनि उनको दिमागमा चित्र बन्छ। ती दिनहरु रंगिन थिए। सुन्तलाको रूखका पातहरु सँग खेलेका दिनहरु अझै याद छ, उनलाई। जाडोको याममा साथीहरु सँग पात बटुल्न गएका दिनहरुले पनि दिमागमा डेरा जमाएर बसेका छन्।

त्यसपछि ती दिन कहिल्यै आएनन्। भन्छिन्, 'मैले उज्यालो संसार निकै छोटो समय नियाले। आज ती दिन सम्झेर आनन्द लिइरहेकी छु र कर्म गरिरहेकी छु।

उनी हालसम्म बिहे नगरी बसेकी छिन्। 'सानैदेखि सोसल वर्कतिर ध्यान गायो। त्यसैले बिहे तिर ध्यान भएन,' उनले हाँस्दै भनिन्।

लोकसेवाको परीक्षा दिने बेला उनी भिनाजुको घरमा बसेर तयारी गरिरहेकी थिइन्। भिनाजु काठमाडौंमा बस्थे। बिहान-बिहान पत्रिका पढेर सुनाउँथे। उनलाई लोकसेवाको बारेमा जानकारी दिने र उत्प्रेरित गर्ने सुशीला मल्ल हुन्। सुशीला उनकी मिल्ने साथी। सुशीला अहिले कहाँ छिन् उनलाई पनि थाहा छैन। तर, भिनाजु र सुशीला उनको जीवनका प्रिय पात्र हुन्। 

सुशीला र निरा एक दिन सँगै लुगा धुदै थिए। त्यहीबेला उनीहरु दुबैले स्नातकोत्तर तह सकाएका थिए। सुशीलाले, 'तैँले लोकसेवाको तयारी गर्नुपर्छ। फर्म मैले भरिदिएकी छु,' भनिन्। निरा अहिले पनि उनलाई सम्झिँदा असिम माया लागेर आउँने बताउँछिन्, 'सुशीला जीवनकै महत्त्वपूर्ण साथी हुन्। म सँधै मिस गरिरहन्छु।'

हाल सब ठीकठाक छ। गाह्रो भएको खण्डमा सरकारले उनलाई असिस्टेन्टसमेत उपलब्ध गराउँछ।

सुशीला र भिनाजुको सहयोगले निराको जीवन बदलियो। उनको मनले नयाँ संसार नियालिरहेको छ। सक्नुहुन्छ भने तपाईँहरु हामीलाई यस्ता साना सहयोग गर्नुस्, जसले हाम्रो जीवन बदलिदिनेछ। 

प्रकाशित मिति: : 2019-11-25 09:58:34

प्रतिकृया दिनुहोस्