नेपाली युवा वैज्ञानिक रोशन यादवलाई भारतको सबैभन्दा पुरानो वैज्ञानिक संगठन ‘इन्डियन केमिकल सोसाइटी’ ले ‘अनररी फेलो’ बाट सम्मानित गरेको छ।
शनिबार भारतको छत्तिसगढस्थित राजधानी रायपुरमा आयोजना भएको ५६ औं ‘कन्भेन्सन’ ले यादवलाई सम्मान गरेको हो। यादव हाल शिक्षा मन्त्रालयअन्तर्गत ‘नेपाल नेशनल कमिसन फर युनेस्को’ मा सदस्य पदमा कार्यरत छन्। उनलाई नेपाल सरकारले यसै वर्ष कान्छो सदस्यको रूपमा नियुक्त गरेको थियो।
यादवले ‘डिपार्टमेन्ट अफ बायोटेक्नोलोजी’ जादभपुर युनिभर्सिटी कोलकाताबाट पिएचडी गरेका छन्। छत्तिसगढमा तीन दिन भएको ‘इन्डियन केमिकल सोसाइटी’ को ५६ औं कन्भेन्सनले आफूलाई सम्मान गरेकोमा उनले खुसी व्यक्त गरे।
‘मलाई सम्मान गर्नु भनेको देशमा भइरहेको कामको मूल्याकंन हुनु पनि हो। भारतको सबैभन्दा पुरानो बैज्ञानिकहरूको संस्थाले सम्मान गर्दा निकै खुसी लागेको छ,’ ३० वर्षीय युवा वैज्ञानिकले बिएल नेपाली सेवासँग भने।
‘इन्डियन केमिकल सोसाइटी’ भारतका अग्रज वैज्ञानिक आचार्य प्रफुल्लचन्द्र रेले सन् १९२४ मा स्थापना गरेका हुन्।
उनलाई सम्मान गर्दा छत्तिसगढका गर्भनर, शिक्षा–विज्ञान तथा प्रविधि मन्त्री उमेश पटेल, पण्डित रविशंकर शुक्ला युनिभर्सिटीका भाइस चान्सलरलगायत ४० राष्ट्रका वैज्ञानिकहरूको उपस्थिति थियो।
यादवले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘सेन्ट्रल डिपार्टमेन्ट अफ बायोटेक्नोलोजी’ मा अध्यापन गराइसकेका छन्। उनी केही वर्ष नास्टको ‘रिसर्च फेलो’ को रुपमा समेत कार्यरत थिए। उनले एसियन इन्सिच्युट अफ टेक्नोलोजी एन्ड मेनेजमेन्ट (एआईटिएम) मा उपनिर्देशकको रुपमा काम गरिसकेका छन्।
उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा थुप्रै लेख प्रकाशित भइसकेको छ।