पत्रकार शिवाकोटीलाई एक लाख राशीको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

बिएल

पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो।

हाम्रा कुरा डट कमका संस्थापक प्रधानसम्पादक उनले संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दूव्र्यवहार गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महराबारेको समाचार आफ्नो अनलाईनमार्फत् सार्वजनिक गरेका थिए।

इन्जाले सोही साहसिक कामको सम्मान गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले सत्ता र राजनीतिक दलहरुले प्रेसलाई शक्तिका लागि दुरुपयोग गर्ने गरेको उल्लेख गर्दै त्यसबाट बचेर आफ्नो पेशालाई अघि बढाउन पत्रकारहरुलाई आग्रह गरे।

प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले तत्कालीन सभामुख महराको सो समाचार सार्वजनिक गरेपछि आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।

सो पुरस्कारबाट सम्मानित हुने पत्रकार शिवाकोटीले २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाललगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन्।

पुरस्कार ग्रहण गर्दै पत्रकार अजयबाबु सिवाकोटीले आफूले  पाएको पुरस्कारमध्ये २५ हजार रुपियाँ हिजो मात्र निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषण गरेका छन्।

पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै अर्का अतिथी पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले ‘वर्तमानमा अधिक समाचारहरु न्युजरुममै किल हुने अवस्था रहेको’ भन्दै चिन्ता व्यक्त गरे। ‘पत्रकारिताको अर्थ सत्यको उजार गर्नु हो, यो कसीमा अजयबाबु खरो उत्रको देखियो’, उनले भने, ‘अरु पत्रकारहरुले पनि यस्तो प्रकारको अभ्यास गर्नुपर्छ।’

प्रकाशित मिति: : 2019-11-15 17:00:35

प्रतिकृया दिनुहोस्