हामी म्यानमार (बर्मा) मा बसोबास गर्ने नेपालीभाषीले आफ्नो कला, सँस्कृति र सँस्कारलाई बडाे निष्ठाका साथ अँगालेका छौँ। जसरी हाम्रा पूर्खाले जुन मार्ग हामीलाई देखाएका थिए, यसैको अनुशरण गर्दै आफ्ना सन्ततिलाई केही आपत् नपरोस् भनेर हामीले युगानुकूल भौतिक तथा आध्यात्मिक ज्ञानको चेतना फैलाउँदै आइरहेका छौँ।
म्यानमारमा नेपालीभाषीको संख्या दुई लाखकाे हाराहारीमा छ। जसमा चार सँस्कृत गुरूकूल पनि छन्। जसका सूत्रधार स्वर्गीय जीवलाल बाबाजी मानिन्छन्। यी चार गुरूकूल मध्ये मुख्य गुरूकूल लखूलाई मानिन्छ। जसमा प्रवेशिकादेखि शास्त्रीसम्मको अध्ययन हुने गरेकाे छ। चैत महिनाको रामनवमी पर्वमा प्रथम श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्रका साथ व्यास प्रदान गर्ने गरिन्छ।
यहाँ आफ्ना मौलिक परम्परा र चाडपर्व पनि बिशेषरूपमा धुमधाम साथ मनाउने गरिन्छ। म्यानमारमा एउटा यस्तो संघ पनि छ, जसलाई अखिल म्यानमार देशीय गोर्खा हिन्दू धार्मिक संघ भनिन्छ। सबैलाई नेपाली भाषा पढ्न सहज होस् भनेर हरेक गाउँ ठाउँमा गुरूहरू पठाउने गरिन्छ।
बर्मिज भाषा जेठबाट सुरू भएर फागुण महिनासम्म पढाउने कार्य हुन्छ। यसपछि चैतबाट तीन महिना नेपाली भाषाको पढाइ सुरु हुन्छ। नेपाली भाषामा दश कक्षा उत्तीर्ण विद्यार्थीलाई डिप्लोमा पढ्ने बाटो खुल्छ। यहाँ कथा, कविता, निबन्ध, मुक्तक, गजल, हाइकु र साहित्यसम्बन्धि हरेक कुराको बोध पनि गराइन्छ।
डिप्लोमा उत्तीर्ण भएका विधार्थीलाई प्रमाणपत्रका साथै डिग्री पनि प्रदान गरिन्छ। डिग्री पुरा गरेपछि मात्र उनीहरूले नेपाली भाषा पढाउने अधिकार पाउँछन्।
यति बेला पढ्न रूचि भएका विद्यार्थीलाई केन्द्रले पढाउने क्रम पनि चलिरहेकै छ। अखिल म्यानमार देशीय गोर्खा हिन्दू धार्मिक संघका अध्यक्षमा हाल मानसागर घिमिरे नियुक्त छन्। उनी हरेक तीन महिनामा सबै गाउँ घुम्दै कुन ठाउँमा के के कमी छ? त्यसको पनि व्यवस्थापन मिलाउँछन्।
उनी कुन रितिरिवाजअनुसार पर्व मनाउने यसको पनि जानकारी सबै नेपालीभाषी समक्ष पुर्याउने कार्यमा उत्तिकै तत्परताका साथ खटिने गरेका छन्। विशेषत म्यानमारमा दशैँ, तिहार, रामनवमी, शिवरात्री, होली, पूर्णीमा जस्ता पर्व बडो उत्साहका साथ धुमधामसँग मनाउने गरिन्छ। अन्य धर्म पनि नमनाउने हाेइन तर माथि उल्लेखित चाड जस्तै यिनीहरु धुमधामसँग मनाइन्न।
वर्षमा एक चोटी चैत महिनामा बिशेष तवरले शिविरको पनि आयोजन गर्ने गरिन्छ। जसमा दुई हजार युवायुवतीले भाग लिने गरेका छन्। नेपाल जस्तै म्यानमारमा पनि त्रिपथ गंगा निर्माण सम्पन्न हुदैछ। त्रिपथ गंगा श्री शिव शारधा सँस्कृत गुरूकूलु लखू रामेश्वर धाममा पर्छ।
धामका प्राध्यापक एक हजार आठ बिष्णु बल्लावचार्य सरस्वती महाराज छन्। उनी भारतकाे बनारसबाट २० बर्ष अध्ययन पुरा गरि डक्ट्रेडको डिग्री लिएर आएका हुन्। उनी ‘भट्टोजिदिक्षीतद्धारा’ उल्लेखित ग्रन्थको बोध गराउँछन्। जसलाई ‘सिद्धान्त’ भनिन्छ। ग्रन्थ सँगसँगै ‘तर्कसंग्रह’ नामक ग्रन्थको पनि बोध गराउँछन्। जसकाे दुई सय छात्रछात्रा अध्यन गरिरहेका छन्।
यसमा उत्तिर्ण हुने ५ जनालाई भारतकाे बनारसमा छात्रबृत्तिमा बेद पढाउने गरिएकाे छ।
यहाँ एउटा आश्रम पनि छ, जसलाई श्री आशुतो तमोधाम संन्यास आश्रमकाे नामले चिनिन्छ। आश्रमका आचार्य हुन्, १०८ स्वामी। जसले नेपालमा अध्ययन गरेर म्यानमार फर्किदै आत्मासम्बन्धि ज्ञान छात्रछात्रालाई बाँड्ने गरेका छन्। यहाँ पनि अध्ययनका लागि ५० काे हाराहारीमा विधार्थी हुने गरेकाे छ। उनी सम्पूर्ण आध्यात्मिक ग्रन्थको बोध गराउँछन्। साथै पुराणकाे पनि आयाेजना गर्ने गर्छन।
यसबाहेक अरू पनि तीन सँस्कृत गुरूकूल छन्। जसमा बाह्रैमास आध्यात्मिक पढाइ हुन्छ। साथै नेपाली काेर्षकाे पनि पढाई हुने गरेकाे छ। यी सबै गुरूकूल स्थापना गर्ने श्रेय बडा गुरू जीवलाल बाबाजीलाई नै जान्छ।
उनकै कारण आज म्यानमारमा पनि नेपालमा झै सँस्कृति बाँचेकाे छ।
म्यानमारकाे कछिन स्नेट मोगाउँ नगर चान्बारी प्रशाखामा बडाे धुमधामका साथ कार्तिक महिनामा साँस्कृतिक नृत्य चल्दछ। यहाँ एउटा कुटी पनि छ, जसलाई तपोभूमि पनि भनिन्छ। याे स्थानलाई परमहंस उदासी बाबाले आराधना गरेर पवित्र पारेका थिए। त्यसैले आज पनि त्यो भूमि अति सुन्दर र मनोरम छ।
म्यानमारमा पनि नेपाल र भारत जस्तै महिनामा एक पल्ट साहित्यसम्बन्धि गजल, मुक्तक, कविता, इत्यादिको कार्यक्रम हुने गर्छ। त्यसैले होला म्यानमारमा साहित्यकारको कुनै कमी छैन। अर्को कुरा फागुन महिनामा पर्ने महाशिवरात्री पर्वलाई शँखाईमा धुमधामका साथ मनाइने चलन छ। जसमा श्रीमद्भागवात महापुराणको पाठसहित नेपाली भाषाबाट व्याख्या चल्दछ।
नित्य वेदका मन्त्रद्वारा हवन चल्दछ। दिउँसाे भागवतको व्याख्या चल्दछ भने रात्रीमा संस्कृति झल्काउने नृत्यकला हुन्छ। जसलाई हेर्न विदेशबाट समेत पाहुँना आउने गर्दछन्। साँच्चै यो शँखाई धाम पनि पवित्र स्थल हो, जहाँ साक्षात् भोलेनाथ प्रकट भएकाे अनुभव हुन्छ।