छाेरी पाएकाे भन्दै लाेग्नेले छाेडेकी सुनितालाई ब्रेन ट्युमर

बिएल
बाराकी सुनिता महतोलाई श्रीमानले छोडेर गएको २० बर्ष पछि उनको जीवनमा अर्काे बज्रपात खसेको छ। यहि भदौ १ मा उनले आफूलाई ब्रेन ट्युमर भएको थाहा पाइन्। अहिले उनी मृत्युसँग लडिरहेकी छिन्। उपचारको लागी पर्याप्त पैसा नपुग्दा ज्यानको रक्षा गरिदिन उनी सहयोगकाे याचना गरिरहेकी छिन्। 
 
सामान्य चिया पसल सञ्चालन गर्दै आएकी महत्तो बिगत २ महिनादेखि मृत्यूसँग लडिरहेकी छिन्। मस्तिष्ककाे अपरेशन गर्नु पर्ने भएकोले दश लाख रुपैयाँको आवश्यकता परेको पीडित सुनिताले सुनाइन्। बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं.४ बिसौलियाकी ४० वर्षीय महत्तोले छोरी पाएको थाहा पाउना साथ श्रीमानले छोरीको मुख पनि नहेरी छोडेर गएका थिए।
यसरी एक्लै जीवनयापन गर्नुपर्दा आफ्नो र छोरीको पालनपोषनको लागि विगत १८ बर्षदेखी अरुको घरमा गएर भाडा माझ्ने काम गर्दै आइरहेकी थिइन। यता आफ्नो व्यापार गर्नुपर्यो भन्ने सोचका साथ उनले २ बर्षअघि छोरीको सहयोगमा चिया पसल संचालन गरेकी थिइन। अहिले उनकी छोरी २० बर्ष पुगेकी छिन्।
 
सनिता महताे र उनकाे छाेरी सहयाेगकाे याचना गर्दै। तस्वीर: बिएल
 
परिवारमा कमाउने कोही नभएपछि छोरी सपना कुमारीले कक्षा ८ मै आफ्नो पढाईलाई विश्राम दिनुपर्याे। विगत ४ बर्षदेखी पढाई छोडेर चिया पसलमा सघाउँदै आएकी छोरी सपना आमाको स्वास्थ्य अवस्था देखेर चिन्तित छिन्। घरमा कमाउने कोही नभएको बेला आर्थिक अभावका कारण औषधि उपचारको खर्च कहाँ बाट जुटाउने भन्ने चिन्ता आमाछोरी दुवैलाई छ।
 
पहिले देखिको हल्का टाउको दुखाइलाई समान्य रुपमा लिएकी पीडित महतोलाई यहि भदौ १ मा एक्कासी सहन नसक्ने दुखाई सुरु भएपछि वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे थियाे।  तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडाैंस्थित न्यूरो अस्पतालमा लगियो। काठमाडाैंमा चिकित्सकहरुले बिरामी सुनितालाई ब्रेन ट्युमर भएको जानकारी दिँदै मस्तिष्ककाे अपरेशन गर्नुपर्ने सुझाव दिएका छन्।
उनको आर्थिक अवस्थालाई हेर्दै अहिले जितपुर सिमराका स्थानीय समाजिक अभियन्ताहरुले सुनिता बचाउ अभियान नै संचालन गरेका छन्। अभियान अन्तरर्गत बिरामी कै छोरी सपना कुमारीको नामको बैंकमा खाता समेत खोलिएको छ। एस.बि.आई बैंक सिमरा बारामा सपना कुमारीको नाममा खोलिएको खाता नम्बर २५३१५२४३२००००४ मा सम्पूर्ण नेपालीले आर्थिक सहयोग गरेर सुनिता बचाउ अभियानलाई सफल पार्न अभियानका श्यामबाबु गुप्ताले अपील गरेका छन्।
 
अभियान अन्र्तर्गत अहिले सम्म स्थानीयवासीद्धारा ३२ हजार सहयोग उपलब्ध भएको छाेरी सपनाले जनाएकारी दिइन्। दश लाख रुपैयाँको खाँचो भएकाले सुनिताको जीवन रक्षाको लागि अझै बढी सहयोगी हातहरुको खाँचो रहेको बताउँदै स्थानीय श्यामबाबु गुप्ताले रोगले सानो ठूलो नगन्ने र जो कोही पनि बिरामी हुँन सक्ने भएकाले पीडितलाई सहयोग गर्न सबै जुटनु पर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: : 2019-10-10 17:40:52

प्रतिकृया दिनुहोस्