देशमा गणतन्त्र आइसकेपछि र देश धर्मनिरपेक्षता घाेषणा हुँदा पनि दशैंकाे लोकप्रियतामा कुनै कमी आएकाे छैन । लामो बिदा, कर्मचारीलाई कम्तिमा एक महिनाको तलब बराबर चाडपर्व भत्ता, परिवारका सदस्यहरु र आफन्तसँगकाे भेटघाट हुने संयाेग यसैबेला जुर्नाले दशैंकाे पर्खाई विशेष छ ।
दशैंका विविध सामाजिक र मानवशास्त्रीय पक्ष छन् । मानव समाजकाे विकास जतिकै चाडपर्वका इतिहास छन् । चाडबाडसँग धार्मिक साथसाथै मानव सभ्यताका विविध पक्ष गाँसिएका छन् ।
दशैसँग जाेडिएकाे बलिप्रथा अहिले सान्दर्भिक नभएर आलोचित पनि भएको होला तर यसको पनि अलग महत्त्व छ ।
दशैं विजेताको आधिपत्य रुपमा बढी परिचित छ । यसका एक हैन, अनेक रूप र परिभाषा छन् ।
देशकाे राजनीतिसँग पनि दशैंकाे साइनाे छ । तर, यहाँ उठान गर्न लागिएको विषयचाँहि दशैंका विविध पक्षभन्दा पनि राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिने टीका हो, यो टिप्पणी मूलत: त्यसैमा केन्द्रित छ ।
सदाझैं याे दशैंमा पनि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयका अनुसार २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुखलगायतलाई र दिउँसाे २:३० बजे सर्वसाधारणलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम सार्वजनिक भएको छ ।
दशैमा पहिला राजा वीरेन्द्र जे गर्थे- अहिले राष्ट्रपति विद्यादेवी त्यही गरिरहेकी छिन् । मन्दिर घुम्नेदेखि टीका लगाइदिनेसम्म । केही छैन फरक ? बर्सेनी यसको आलोचना पनि हुने गरेको छ तर उनी सुध्रिनेवाली हैन, यसलाई परम्परा नै बनाउन लागिपरेकी छिन् । यसपटक पनि उनले फेरि दशैको टीका लगाइलिने सूचना नै सार्वजनिक गरेकी छिन् । मानिसहरू यसलाई कुरीकरी गणतन्त्र भन्न थालेका छन् ।
पछिल्लाे समय राष्ट्रपति व्यक्तिगत महत्वाकांक्षा र विलासी जीवनशैलीका कारण आलाेचित छिन् । उनकाे हिँडडुललाई लिएर श्री ६ बडामहारानीसम्म भन्न थालिएको धेरै भैसक्यो । गलामा झल्केको मोती मालाका कारण उनमा पम्फादेवी देख्ने पनि धेरै भैसके । उनको अभिव्यक्ति पनि टिका टिप्पणीको विषय भैरहेकै छ ।
अहिलेलाई यी सबैलाई थाती राखेर उनकाे दशैं गतिविधिमै केन्द्रित हाैं ।
सामन्तवादी चिन्तन अनुसार उमेर जेष्ठता मात्र नभई श्रेष्ठताको प्रतीक हो । त्यसैले दशैंमा आर्शिवाद थापिने चलन रहेकाे छ । आर्शिवाद जेठोबाट कान्छोले, राजाबाट जनताले, मुखियाबाट गाउँलेले, कथित ठुलाे जातकाबाट कथित तल्लो जातकाले, श्रीमानबाट श्रीमतीले थापिने चलन हुनु दशैंमा सामन्तवाद झल्को देखिनु हाे ।
सामन्तवादकाे जराे उखेलिएकाले नै देशमा धर्मनिरपेक्षता र गणतन्त्र घोषणा गरिएकाे छ । त्यसैले राजाकाे ठाउँमा राष्ट्रपतिकाे व्यवस्था छ । गणतन्त्रमा राष्ट्रपतिबाट जनतालाई टीका लगाउने कामले निरन्तरता पाउनु सामन्तवादकाे निरन्तरता भन्दा फरक कहेी हैन । यसमा यो वा त्यो नाममा कुनै तर्क नै हुन सक्दैन ।
दशैंका खानपिन, खर्चपर्च, नयाँ-नयाँ लुगा र पैसाको रवाफका कारण हुनेखानेलाई मोजमस्ती छ भने नहुनेको मन कुडिएको छ । सामाजिक विभेद अत्यासलाग्दो गरी बढेको छ । हरेक वर्ष आकासिने बजारभाउले तल्लो वर्गका लागि दशैं दशामा रूपान्तरण भएको छ।
यी सामुहिक दु:ख किन हुन्छन् ? के कारणले याे सबै भैरहेकाे छ ? नागरिकको जीवन कसरी सहज र व्यवस्थित गर्न सकिन्छ ? भन्ने खाेज र अध्ययन गर्नुकाे साटाे राष्ट्रपतिले आशिर्वाद दिनुले केकाे संकेत गर्छ ? के याे नागरिकलाई अनन्त रूपमा भाग्यवादमा विश्वास गर भनिएकाे हाेइन ? के हाम्राे शासकहरु भाग्यका कारण सत्तामा पुगेका हुन् ? पक्कै पनि हाेइनन् । यस्ताे अवस्थामा राष्ट्रपति स्वयं राजामा रूपान्तरित हुन खोजिरहेकी छिन् किन ?
गणतन्त्रमा राष्ट्रपतिले टीका लगाइदिने चलन सान्दर्भिक छ त ?
हामी गणतन्त्रलाई निरन्तरता दिइरहेका छाैं वा सामन्तवादलाई जाेगाइरहेका छाैं ? याे एक गम्भीर चिन्ता र चासोको विषय हो । कोही छ उत्तर दिने ?