महराको बलात्कार काण्डः समाचार लेख्ने पत्रकार सिवाकोटीलाई पुलिसको सुरक्षा निगरानी

फाइल तस्बिर

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ।

काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। 'सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन। यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’ उनले भने।

पत्रकार सिवाकोटीले बिहीबार बिहान आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन्।


सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईन हाम्रा कुरा डटकममा प्रकाशित गरेका थिए। त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिएका छन्।

मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन्।

आइतबार महराले आफूलाई कुटपीट र बलात्कार गरेको आरोप उनको थियो। त्यो दिन उनले प्रहरीलाई समेत बोलाएर आफूमाथि भएको घटनाबारे बताएकी थिइन्। तर प्रहरीले अनुसन्धान अघि बढाएको छैन।

 

प्रेस विज्ञप्ति

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।


यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ ।


समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छाैं । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।

बद्री सिग्देल
अध्यक्ष

प्रकाशित मिति: : 2019-10-03 14:25:45

प्रतिकृया दिनुहोस्