मिसन अस्पताल पाल्पामा सुत्केरी हुन आएकी एक युवतीको ज्यान गयो

मिसन अस्पताल पाल्पा

युनाईटेड मिसन अस्पताल पाल्पामा सुत्केरी हुन आएकी एक युवतीको उपचारको क्रममा ज्यान गएको छ ।

रम्भा गाँउपालिका–४, हुमिनकी २४ वर्षिया विपिन्द्रा सूर्यबंशीको उपचारका क्रममा ज्यान गएको हो। रगत बग्ने समस्याका कारण गत मंगलबार उपचार गर्न भन्दै अस्पताल ल्याएको आफन्तले बताएका छन्।

बच्चाको मृत्यु भएको भन्दै बुधबार राति ११ बजे विपिन्द्राको अपरेसन गरिएको जेठाजु तुल बहादुर शूर्यवंशीले बताए।

अप्रेसन गरेको ३ घण्टापछि विपिन्द्राको मृत्यू भएको उनले बताए।

युनाईटेड मिशन अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले मुटु र फोक्सोमा आएको समस्याले बिरामीको मृत्यु भएको जानकारी दिए।

विपिन्द्रा आत्तिएर अक्सिजन फालेपछि नर्सहरूले पुनः अक्सिजन लगाउन नसकेको कारण मृत्यु भएको आफन्तले बताएका छन्। मृत्यु हुँदा आफू सँगै रहेको बताउँदै विपिन्द्राका जेठाजु तुल बहादुर सूर्यवंशीले ५/७ पटकसम्म डाक्टरलाई बोलाउँदा पनि आउन ढिलाई गरेको बताए।

आफ्नै अगाडि बिरामी निलो भएपछि अस्पतालले आफूलाई बाहिर निकालेको शूर्यवंशीले बताए।

प्रकाशित मिति: : 2019-09-26 19:26:03

प्रतिकृया दिनुहोस्