प्रधानमन्त्रीलाई विद्यार्थीको ध्यानाकर्षण– ‘‘बरु रेल–पानी जहाज चाहिएन, कालापानी फिर्ता होस ’’

बिएल

भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी,लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेका छन् ।

व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा मंगलबार निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ।

संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ।

त्यस अवसरमा नेविसंघ सम्बद्ध विद्यार्थीले बरु अहिले रेल र पानी जहाज नचाहिएको मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

नेविसंघका विद्यार्थी नेता पवन भट्टराईले भने,‘अहिले रेल चाहिएको छैन। पानी जहाज पनि होइन, हामीलाई लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता चाहिन्छ।’

बैकुण्ठको दौडको ५० वर्षः मनिलामा विदेशी धावकलाई कसरी झुक्याए बैकुण्ठले? (भिडियोसहित)

 

प्रधानमन्त्रीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्रीसँग छलफल गरी नेपाली भूमि फिर्ता गराउनु पर्ने उनले माग गरे।

नेविसंघका पूर्वसहमहामन्त्री कृष्ण कार्कीले नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले दह्रो खुट्टा टेक्नुपर्ने सुझाव दिए। ‘सर्वपक्षीय छलफलबाट पनि प्रधानमन्त्रीलाई अघि बढ्न म्यान्डेड दिइएको छ,’ कार्कीले भने,‘अब प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गर्नुपर्छ। उहाँलाई सबैको साथ र समर्थन छ।’

र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय पुगेका विद्यार्थीले ‘पुर्खा लडे नालापानी, हामी लड्छौ कालापानी’, ‘जमिन मिच्न पाइँदैन, दुष्ट छिमेकी चाँहिदैन’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता भारतविरोधी नारा लगाएका थिए। 

यसैगरी विद्यार्थीको अर्को समूहले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट निस्किएको र्‍याली जिल्ला प्रशासन कार्यालय मोरङअगाडि आएर विरोध सभामा परिणत भएको थियो। सहभागी विद्यार्थीले भारतको रवैयाले नेपालमाथि जहिले पनि थिचोमिचो हुने गरेको बताएका थिए।

प्रकाशित मिति: : 2019-11-12 13:11:47

प्रतिकृया दिनुहोस्