तीन सय कैदीबन्दी क्षमताको सो कारागारमा ७४३ कैदीबन्दी राखिएका छन् । तीमध्ये महिला ५६, पुरुष ६ सय ८५ र दुई आश्रित बालक रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार कूल कैदीबन्दीमध्ये ५२ जना विदेशी नागरिक रहेका छन् ।
नेपालगञ्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् ।
कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएको, वरपर अत्यन्तै फोहोर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ । कोठाको अभावमा शौचालायको माथितिर पाल हालेर बरण्डा र छतमा समेत कैदी सुत्ने–बस्ने गर्दछन् । यसले पानी परेपछि ओत लागेर राति सुत्ने नसक्ने अवस्था आउने गरेको कैदीबन्दीहरु बताउँछन् । नेपालगञ्ज कारागारमा रहेको कैदीबन्दीहरुका लागि खानेपानी, विद्युत्, सुत्ने र मनोरञ्जनका साधनको कमी रहेको बताएका छन् ।
क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण उनीहरुलाई रोजगारका लागि सीपमूलक कार्य गराउने अवस्था नरहेको कारागार प्रमुख जेलर भरत पाण्डेले बताए ।
“विशेषगरी पुरुष कैदीबन्दीहरुको रोजगारका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरौं भन्ने उभिनसम्म ठाउँ हुँदैन”, उनले भने, “स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएको, वरपर अत्यन्तै फोहोर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको अवस्था छ ।”
धारामा घण्टौँ लाम लाग्नुपर्छ, बस्ने र सुत्ने ठाउँ छैन, शौचालयमा घण्टौँपछि मात्र पालो आउँछ कैदीबन्दीहरुको गुनासो छ । कारागार प्रमुख जेलर पाण्डेका अनुसार कारागारमा देखापरेका यस्ता समस्याको मूल कारण क्षमताभन्दा तेब्बर कैदीबन्दीको सङ्ख्या रहनु हो । बढ्दो कैदीबन्दीका कारण आवश्यक सेवासुविधा विस्तारमा समेत समस्या देखिएको उनले बताए । “विशेषगरी पुरुष कैदीबन्दीका लागि निकै समस्या छ । कोही प्यासेजमा, कोही शौचालयको छतमा सुत्छन् । अन्य पूर्वधारहरू तयार गर्ने कुनै योजना पनि आएको छैन”, कारागार प्रमुख जेलर पाण्डेले भन्नुभयो । “कारागार भवन जीर्ण अवस्थामा छ, कैदीबन्दीको सङ्ख्या बढेको बढ्यै छ”, उनले भने, “वैकल्पिक व्यवस्थापन हुन नसक्दा भित्र कोचिएर बस्न बाध्य छन्, कैदीकन्दीहरु ।”
“बढ्दो कैदी सङ्ख्याले मानवीय समस्या मात्र बढाएको छैन । व्यवस्थापन र प्रशासनिक जटिलतासमेत थपेको छ ”, उनले भने, “कारागार यति जर्जर अवस्थामा पुगेको छ कि सेवासुविधा थपेर मात्र सुधार हुनेवाला छैन । कारागारलाई सुधारगृह भने पनि यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।”
कारागारमा हाल लागुऔषध, कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दीको सङ्ख्या बढी रहेका छन् ।
अन्य जिल्लाको तुलनामा यहाँ आएका कैदीबन्दी बाहिर जान नखोज्ने भएपछि समस्या भएकोे जेलर पाण्डेको भनाइ छ । “कैदीबन्दीले यहाँ खानाको राम्रो व्यवस्था छ भन्छन्”, उनले भने, “क्षमताभन्दा बढी भएपनि यहाँका कैदीबन्दी अन्यन्त्र जान चाहदैँनन्, फलस्वरुप उनीहरुको व्यवस्थापन गर्न निकै समस्या भइरहेको छ । ”