वीरगन्जबाट १२ जनाको बाँकि कैद मिनाहा

तस्बिरः बिएल

संविधान दिवसको अवसरमा वीरगन्ज कारागारबाट कैद मिनाहाका लागि सिफारिस गरिएका १४ जना कैदीमध्ये १२ जनाको बाँकि कैद मिनाहा गरी रिहा गरिएको छ।

नेपालको संविधानको धारा २७६ अनुसार नेपाल सरकारले संविधान दिवसमा शुक्रबार अधिराज्यभरीकै कारागारबाट २ सय ८२ जना कैदी बन्दीलाई रिहा गरिएको छ ।

गृह मन्त्रालयको सिफारिसमा बीरगन्ज कारागारले असल आचरण भएका कैदी बन्दीलाई रिहा गरेको हो।

संविधान दिवसको अवसरमा शुक्रबार असल आचरण भएका कारागार भित्र रहेका कैदी बन्दीहरुलाई आम माफी गरिएको वीरगन्ज कारागार प्रमुख श्रवण कुमार पोखरेलले जानकारी दिए।

वीरगन्ज कारागार भित्र रहेका कैदीबन्दी मध्ये ज्यानमार्ने उद्योग तर्फ २ जना, कर्तव्य ज्यानतर्फ ४ जना, सवारी ज्यान तर्फ ४ जना, कुट्पिट तर्फ १ जना र गर्भ पतन तर्फ १ जना गरी जम्मा १२ जना कैदी बन्दीलाई रिहा गरिएको कारागार प्रमुख पोखरेलले बताए।

रिहा हुनेमा १ महिला सहित ११ जना पुरूष रहेका छन्।

अपहरण, बलात्कार, लागूऔषधबाहेकका अपराधमा जेल सजाय भोगिरहेका कैदी बन्दीमध्ये ५० प्रतिशत कैद भुक्तान गरेका र आचरण सुध्रिएका आम माफी दिन गृह मन्त्रालयलाई सिफारिस गरि कैदी बन्दीलाई रिहा गरीएको कारागार प्रमुख पोखरेलले बताए।

कैद मुक्त हुने कैदीको बाँकि जीवन सुखद र रचनात्मक रहोस् भन्दै कैद मिनाहा भएका कैदीहरुलाई कारागार प्रमुखले अबिर माला लगाई बिदाई गरेका थिए। साथै उनीहरूका आफन्तजनहरूलाई बधाई तथा शुभकामनासमेत दिएका थिए।

नेपाल सरकारले यसअघि संविधान दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई आम माफी दिने प्रचलन रहेको कारागार प्रमुख पोखरेलले बताए।

प्रकाशित मिति: : 2019-09-20 15:38:58

प्रतिकृया दिनुहोस्