कपनमा एक महिला आफ्नै कोठाभित्र हत्या गरिएको अवस्थामा मृत फेला परेकी छिन्। कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तुकी ५५ वर्षीय कमला कार्की हत्या गरिएको अवस्थामा मृत फेला परेकी हुन्।
कोठाभित्र हात र मुख सलले बाँधिएर मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी रमेश सिंहले जानकारी दिए।
‘मृत्यु शंकास्पद देखिएको छ। अनुसन्धानमा बाँकी केही खुल्दै जान्छ,' डिएसपी सिंहले भने।
मृतक महिला केही समयदेखि किराना तथा रक्सी पसल गर्दै आएकी थिइन्।
कोठामा उनी मात्र एक्लै बस्ने गरेको देखिएको छ। दोस्रो विवाह गरेकी कार्कीका श्रीमानको बारेमा प्रहरीले सूचना खोजिरहेको छ।
स्थानीयका अनुसार दोस्रो विवाह गरेकी उनलाई भेट्न श्रीमान् कहिले काहीँ मात्र कोठामा आउने गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक महिला र पुरूषलाई नियन्त्रणमा लिएको छ। उनीहरू राति सँगै बसेको खुलेको कारण अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकले मोबाइलसमेत प्रयोग गर्ने गरे पनि घटनास्थलबाट फेला नपर्नुले थप शंका पैदा भएको जानकारी दिएको छ।