बिरामी लिएर आएको बोलेरो अक्करको भीरबाट अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

तस्बिरः बिएल

संखुवासभाको खाँदबारीबाट धरानतर्फ बिरामी लिएर आउदैं गरेको बोलेरो जीप गए राति अक्करे भीरमा  दुर्घटनामा परेको छ। मंगलबार राति करिब १०:३० बजे सङखुवासभाको चैनपुर नगरपालिकास्थित अक्करको भीरबाट खसेको जीव अरूण नदिमा खसेको छ।

को १ ज ३७४९ नम्बरको बोलेरो जिप नदीमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् ।

त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् ।

जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।

लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् । बेपत्ता जिप र यात्रुको खोजीजारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-18 07:55:10

प्रतिकृया दिनुहोस्