बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार अन्त्यको लागि समाजिक अभियान सुरू

बालबालिकामाथि हुने कुनै पनि प्रकारका हिंसा तथा दुर्व्र्यवहार अन्त्यको लागि समाजिक अभियान सुरू हुने भएको छ। प्लेटफर्म फर चिल्ड्रेन नामक संस्थाले बालबालिका माथि हुने हिंसा र दुर्व्र्यवहार विरुद्ध चेतना जगाउने भन्दै काठमाडौंमा रन फर चिल्ड्रेन कार्यक्रमको आयोजना गर्‍यो।

बालाजु, लैनचौर, सोह्रखुट्टेलगायतका क्षेत्रबाट ५ किलोमिटरको र्‍यालीमा ‌बालबालिका सम्बन्धी विभिन्न सन्देशमुलक समाग्रीहरु सहित रन फर चिल्ड्रेनको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा नेपालकी अल्ट्रा धाविका मीरा राई, रसिला तामाङ लगायत विभिन्न कलाकारहरुको समेत उपस्थिति थियो।

कार्यक्रममा सहभागी बालबालिका तथा विभिन्न क्षेत्रका व्यक्तित्वले यस प्रकारको कार्यक्रमले बालबालिकालाई मनोरञ्जन गराउनुको साथै उनीहरूको क्षमता विकास, तथा समाजिक सहभागितामा वृद्धि गराई आफ्नो अधिकारको बारेमा सचेत गराउने बताएका थिए।

प्लेटफर्म फर चिल्ड्रेनका सल्लाहकार प्रमेश प्रधानले यो कार्यक्रम बालबालिकालाई कुनै पनि बेला दुर्व्र्यवहार तथा शोषण हुनसक्छ भन्दै त्यसको लागि आवाज उठाउन र त्यसमा बालबालिकालाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको हो।

यसैगरी राष्ट्रिय एथ्लेटिक्स खेलाडी रसिला तामाङले बच्चालाई हौसला र प्रेरणा दिन यस्ता कार्यक्रम उपयोगी हुने बताईन्। उनले बच्चालाई घर भित्रै मात्र नराखी उनिहरूलाई बाहिर निस्केर आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसरको रुपमा रहेको यस्ता कार्यक्रम बढी भन्दा बढी आयोजना गर्नु आवश्यक रहेको बताईन्।

कार्यक्रममा बालबालिकाको लागि वैज्ञानिक किसिमको जादु, अनुहारमा पेन्टिङलगायतको विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो।

कार्यक्रममा रन फर चिल्ड्रेनमा सहभागि सम्पूर्ण व्यक्तित्वलाई हौसला स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो।

रन फर चिल्ड्रेनको लागि आर्थिक रूपमा मुक्तिनाथ विकास बैंकले सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2019-09-15 17:53:18

प्रतिकृया दिनुहोस्