“दुई दिनको बसाइले आयुर्वेद र योगबारे एक प्रकारको भोक जगाइदियो । यो त निरन्तर चाहिने रहेछ ।” कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रमा तनाव व्यवस्थापनको कक्षा लिइरहेका नुवाकोटको ककनी गाउँपालिकास्थित भवानी माविका प्रधानाध्यापक शङ्करप्रसाद लोहनीले भने, “यस्तो कार्यक्रम हाम्रा विद्यार्थीलाई पनि बेलाबेलामा दिएमा उनीहरु र शिक्षकको आपसी सञ्चार र बुझाई अझ परिष्कृत हुन सक्नेछ ।”
लोहनीसहित ककनी गाउँपालिकाका विभिन्न विद्यालयका ४० जना प्रधानाध्यापक सो केन्द्र र आयुर्वेदिक अस्पतालमा शुक्रबारदेखि आवासीय तनाब व्यवस्थापन कक्षा र अभ्यासमा व्यस्त छन् ।
विसं २०६८ मा स्थापित सो केन्द्र त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पससँग जोडिएको रमणीय र खुल्ला स्थलमा छ । केन्द्रमा व्यक्तिगत र समूहगत रुपमा विशिष्ट प्रकारको आयुर्वेदिक परामर्श र उपचार दिइन्छ ।
यहाँ पञ्चकर्म, क्षारसूत्र (पाइल्स, फिसर, फिस्टुला, फिजोयोथेरापी) जस्ता विशिष्ट सेवाहरु छन् । सहभागी अर्का शिक्षक शिवालय मावि, ओखरपौवाका प्रधानाध्यापक प्रकाश घिमिरेले आयुर्वेद एक वैकल्पिक उपचार पद्धति भएको उनलेले यहाँ आएर बोध गरेको अनुभव सुनाए। जीवनशैली र अन्य रोगको मार खेपिरहेका मानिसका लागि आयुर्वेद र योगका माध्यमबाट रोगको न्यूनीकरण गर्न सकिने विश्वासका साथ अग्रसर सो केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुर, योग तथा प्राकृतिक चिकित्सक डा हरिप्रसाद पोखरेल, चिकित्सक डा निर्मल भूषाल, क्याम्पस प्रमुख डा शिवमङ्गल प्रसादलगातले तनाब व्यवस्थापनसम्बन्धी अभ्यास, प्रवचन र उपचार गराएका थिए ।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा केन्द्रले आयोजना गरेको योगाभ्यासमा भने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, सांसद रेखाकुमारी शर्मासहित करीब ४०० सहभागी भए। सभामुख महराले संसद बैठकको व्यस्तता सकिएपछि आफूले यहाँको उपचार पद्धति प्रयोग गर्ने बताए । सभामुख महराले आयुर्वेद तथा योगलाई समयानुकूल विकास, अनुसन्धान र शिक्षणका लागि आवश्यक नीति, योजना कार्यान्वयनका लागि प्राथमिकता दिनुपर्ने बताए।
उनले भने, “यो नेपालको मौलिक पहिचान हो । यसलाई जनताले प्रत्यक्ष अनभूत हुने गरी सञ्जाल निर्माण गरी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापकता ल्याउन जोड दिनुपर्दछ ।’’ केन्द्रका प्रमुख ठाकुरले आफूहरुले नेपालका मौलिक जडिबुटीहरुको संरक्षण, संवद्र्धन तथा उपयोगका लागि प्राथमिकता दिँदै आएको र ‘हर्बल प्लान्ट बार कोडिङ’ को अनुसन्धानलाई शुरु गरेको जानकारी दिए। नेपालमा परम्परागत ज्ञान, सीप, अभिलेखहरुलाई अभिलेखन गर्नुपर्नेमा जोड दिँदै उनले ‘पेटेन्ट राइट्स’ सम्बन्धी कार्यलाई अगाडि बढाइएको बताए। छिमेकी चीन सरकारको करीब रु एक अर्ब सहयोगमा सो केन्द्रको स्थापना भएको हो ।