चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै, यस्तो छ १९ घण्टे भ्रमण तालिका

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो नेपाल आउँदै आउँदैछन्। २३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको छ।यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।

राष्ट्रपति सीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ। बिजुलीका पोलमा राष्ट्रपति सी र नेपाली समकक्षी भण्डारीका तस्बिरहरु राखिएको छ। मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाइएको छ।हाल राष्ट्रपति सी भारत भ्रमणमा छन्।

शुक्रवार दिउँसो भारतको चेन्नई पुगेका राष्ट्रपति सीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर वार्ता गर्दैछन्। दुई नेताबीच आज करिब ६ घण्टा विभिन्न विषयहरुमा छलफल हुनसक्ने बताइएको छ।

मोदीसँगको छलफलपछि केहीबेर आराम गरेर राष्ट्रपति सी आजै नेपाल आउनेछन्। राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले भ्रमणमो अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई अनुरोध गरेको छ ।महाशाखाले यही असोज २५ र २६ गते मुख्य सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न सुचना जारी गरेको छ ।

त्यस्तै सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।यता ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेश गर्न समेत रोक लगाएको छ ।

राष्ट्रपति सी दिउँसो करिब ४ः३० मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछन्।विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपालमा करिब १९ घण्टा समय बिताउनेछन् । राष्ट्रपति सी सहितको चिनियाँ प्रतिनिधिमण्डललाई ताहाचलस्थित सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रपति सीले बेलुकी ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। भण्डारीले चिनियाँ राष्ट्रपति सीको सम्मानमा बेलुकी ७ः३० बजे सोल्टी होटलमा रातिभोज आयोजना गर्नेछिन्।

रात्रीभोजको व्यवस्थापनको पाटो भने परराष्ट्र मन्त्रालयले सम्हालेको छ । रात्रिभोजमा सहभागी हुनेहरुका लागि परराष्ट्रमन्त्रालयले सातबुँदे शर्त राखेको छ । परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागी हुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ ।

भोजका लागि निम्ता पाएपनि सहभागी हुने/नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै उल्लेख गरिएको छ ।

राष्ट्रपति सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शनिवार नै भेट गर्नेछन्। आइतबार बिहानैदेखि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति सीसँगको वार्तामा नेपालले मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई मुख्य एजेन्डा बनाउने तयारी गरिरहेको छ। 'मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क' अन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्दछन्। यसमा रेलवे, सडक, फाइबर, विद्युत ट्रान्समिसन पर्छन्। जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्ने नेपालले विश्वास लिएको छ।

यस्तै, भूकम्पपछिको पुनर्निमाण, लुम्बिनीको विकास, अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौं रेलवे निर्माण, क्रस बोर्डर विद्युत् लाइन, सीमा व्यवस्थापन लगायतका विषयमा पनि दुई राष्ट्रबीच छलफल हुने अपेक्षा गरिएको छ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको १९ घण्टे भ्रमण तालिका

शनिबार

दिउँसो ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर
दिउँसो १२ः३० बजे स्वदेश फिर्ता

प्रकाशित मिति: : 2019-10-12 07:44:55

प्रतिकृया दिनुहोस्