महरा-रोशनी प्रकरणमा नयाँ ट्विस्ट: रोशनीले फेरि भनिन् 'महरा निर्दोष' : अब के हुन्छ ?

रोशनीले फेरि भनिन् 'महरा निर्दोष' : अब चाँहि के हुन्छ ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

नेपालको चर्चित यौनकाण्डका रूपमा उजागर भएको महरा-रोशनी काण्डमा फेरि एकपटक नयाँ ट्विस्ट आएको छ । रोशनी शाहीले पत्रकारहरूलाई सम्बोधन गर्दै आफूलाई बलात्कार प्रयास गरेको भनेर असोज १७ गते दिएको उजुरी 'प्रहरीले ९ घण्टा बन्धक बनाएर जर्बजस्ती दिन लगाएको आरोप लगाउदै असोज १५ गते महरा सर निर्दोष भएको भनेर प्रहरीमा दर्ता गराएको निवेदन नै सत्यतथ्य भएको' भन्दै नयाँ वयान जारी गरेपछि घटनामा नयाँ ट्विस्ट आएको हो ।

उनले जारी गरेको नयाँ वयानमा महरा घरमै नआएकोले उनी दोषी हुने कुरै नभएको दाबी गर्दै यो प्रकरण बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीलाई गाली बेइज्जती र साइबर क्राइममा मुद्दा हाल्ने पनि जनाएकी छिन् । उनले शिवाकोटीलाई 'मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएको बेला जबर्जस्ती कोठामा आई मेरो अन्तर्वार्ता लिएर मेरो अनुमति बिना सामाजिक सञ्जालमा हाली मेरो तथा उच्च ओहोदामा भएका व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गर्न लगाउने पत्रकार' भनेर आरोपित पनि गरेकी छिन् ।

उनको यो पछिल्लो वयानपछि अब के हुन्छ ? यो एक गम्भीर प्रश्न हो । योसँगै केही महत्वपूर्ण प्रश्न पनि उठेका छन् । 

पहिलो, उनले प्रहरीमाथि नै बन्धक बनाएको आरोप लगाएकी छिन् । त्यो पनि नौ घण्टा । अझ जबर्जस्ती उजुरी दिन लगाएको पनि आरोप लगाएकी छिन् । यदि उनले भनेको सही हो भने त्यस्तो गर्ने प्रहरीमाथि कारबाही गर्ने कि नगर्ने ?

दोस्रो, उनले यो प्रकरण बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटीलाई शारीरिक अवस्थाको फाइदा उठाउँदै एक्लै भएको बेला जबर्जस्ती कोठामा आई अन्तर्वार्ता लिएर अनुमति बिना सामाजिक सञ्जालमा हालेको गम्भीर आरोप पनि लगाएकी छिन् । उनले शिवाकोटीविरूद्ध गाली बेइज्जती र साइबर क्राइममा मुद्दा हाल्ने पनि जनाएकी छिन् । 
यदि उनले भनेको सही हो र जबर्जस्ती नै गरिएको हो भने पत्रकार शिवाकोटीलाई कारबाही गर्ने कि नगर्ने ? 

धेरैलाई लाग्न सक्छ- उनले लगाएका यी दुबै आरोप ठीक हैनन् । यदि यी ठीक हैनन् भने उनले महरामाथि लगाएको आरोप पनि त बेठीक हुन सक्छ । त्यो चाँहि ठीक हुने र संसारले पत्याउनुपर्ने अनि महराको सर्वस्व हुने र नेपालको संसारभर बेइज्जत हुने अनि यो चाँहि नपत्याउनुपर्ने कारण के हुन सक्छ ? 

अनि ती आरोप सही हुन् भने जबर्जस्ती गर्ने पत्रकार र बन्धक बनाउने प्रहरी पनि कारबाहीको भागिदार त हुनुपर्ने होला ?

हाम्रो समाज दोहोरो मानसिकता भएको द्वैधचरित्रको पराकाष्टा चरित्र बोकेको समाज हो । यो समाजमा अपवादलाई छोडेर सबैले द्वैध चरित्र नै अपनाइरहेका हुन्छन् । आफ्नाले जे गरे पनि सही र अरूले जे गरे पनि गलत ठान्ने रोगले ग्रस्त हो नेपाली समाज ।

धेरैलाई लाग्न सक्छ- यो महराको पक्षपोषण हो । बलेको आगो ताप्ने र अरूलाई चोरऔला देखाउने हाम्रो समाजलाई यस्तो लाग्नु अस्वभाविक पनि हैन । यतिबेला संसार महराको विरूद्धमा छ र उनलाई खेद्न सबै लागिपरेका छन् । यो खेतीपातीमा महरा पनि चुकेकाले सबैले ठाउँ पाएका छन् । 

महरा र रोशनीबीच विवाहेत्तर सम्बन्ध रहेको बारेमा अब शंका गर्नुपर्ने कुनै कारण छैन, यो घामजत्तिकै सत्य हो । त्यो सम्बन्ध कुन तहको थियो, त्यो उनीहरू नै जानुन् । 

तर, कुरा त्यति मात्र हैन, हरेक कुराको सेकेण्ड ओपनियन पनि हुन्छ । त्यो कोणबाट पनि त हेर्नुपर्छ कि भन्ने हो । 

यतिबेला महरा धेरैको रिसको पोख्ने भाँडो पनि भएका हुन् । धेरैलाई नेकपासँग रिस उठेको छ, महरा रिस पोख्ने भाँडो बनेका छन् , धेरैलाई ओलीसँग रिस उठेको छ, महरा रिस पोख्ने भाँडो  बनेका छन्, धेरैलाई प्रचण्डसँग रिस उठेको छ, महरा रिस पोख्ने भाँडो बनेका छन् । अहिले धेरैको रिस फेर्नुछ र दिन बिग्रेका महरा त्यसका लागि माध्यम बनेका/बनाइएका पनि हुन् । घोल नबनिसकेको नेकपाको राजनीति र तत्कालिन माओवादीभित्रकै गुट राजनीतिको हिसाबकिताव गर्ने बेला पनि धेरैले यति नै बेला रोजेका छन् ।

यसको अर्थ महरा दुधले धोएका हुन् भन्ने हैन तर एकजना दिनदिनमा कुरा फेरिरहने महिलाले दिएको एउटा निवेदनका आधारमा उनको सर्वश्व भएको छ । तर, अब उनै रोशनी महरालाई सर्वश्व हुने आधार नै छैन भनेर वयान दिइरहेकी छिन् भने उनलाई दोषी करार दिने आधार पनि हुदैन होला नि ? एउटै प्रकरणमा उनको एउटा कुरा पत्याउने र अर्को कुरा नपत्याउने भन्ने कुरा पनि सभ्य समाजलाई नसुहाउने होला नि ? 

यो कोणबाट सोच्दा कतै सेकेण्ड ओपनियन पनि बन्छ कि ? प्रश्न यो पनि हो ।

रोशनीले असोज १५ गते दिएको इन्कारी उजुरी : अहिले उनी भन्दैछिन्- यही सत्य हो । 

रोेशनी शाहीले उनको सामाजिक सञ्जालमा जारी गरेको वयान 

श्री पत्रकारज्यूहरू, 

विषय : सत्य तथ्य जानकारी गराएको ।

उनले अगाडि लेखेकी छिन्- प्रस्तुत विषयमा सभामुख कृष्णबहादुर महरासँग मेरो नाम जोडी विभिन्न सामाजिक सञ्जालमा प्रसार गरिएको घटना बारे मेरो ध्यानाकर्षण भइ मिति २०७६/६/१५ गे महानगरीय प्रहरी वृत बानेश्वरमा गई सत्य तथ्य बताउँदै असोज १२ गते महरा सर मेरो कोठामा नआएकाले बलात्कार प्रयास कुरै भएन र महरा सर निर्दोष भएको सत्य तथ्य उल्लेख गरी निवेदन दर्ता गराएकी थिएँ ।तर, असोज १७ गते करिव ८:४५ बजे प्रहरी वृत बानेश्वरले मलाई सोधपुछको लागि भनेर बोलाई करिब ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दवाव दिएर कृष्णबहादुर महराले करणी प्रयास गरेको फेरि निवेदन दर्ता गर्न लगाइएको हो । तर, सत्यतथ्य निवेदन मैले असोज १५ गते दर्ता गरेको नै हो । सत्यतथ्य जानकारी गराउन पत्रकार सम्मेलन गर्न खोजे पनि दशैका कारण सम्भव भएन । १९ गते पत्रकार सम्मेलन गरी जानकारी दिन चाहे पनि प्रहरीको कडा निगरानीका कारण पत्रकार सम्मेलन गर्न सम्म पनि सफल नभएकाले यो जानकारी सामाजिक सञ्जालमार्फत् तपाईहरूसमक्ष पुर्याएकी छु । १५ गतेको निवेदनसमेत पठाएकी छु । 

साथै मेरो शारीरिक अवस्थाको फाइदा उठाउँदै म एक्लै भएको बेला जबर्जस्ती कोठामा आई मेरो अन्तर्वार्ता लिएर मेरो अनुमति बिना सामाजिक सञ्जालमा हाली मेरो तथा उच्च ओहोदामा भएका व्यक्तिको बेइज्जत गर्ने अनावश्यक घटनालाई जोडी पारिवारिक विखण्डन गर्न लगाउने पत्रकार अजयबाबु शिवाकोटीलगायतका युट्युबे पत्रकारहरूलाई गाली बेइज्जती तथा साइबर क्राइममा मुद्दा दिने जानकारी समेत गराउन चाहन्छु । 

निवेदक, 

रोशनी शाही 
९८४३७१८०११

 

 

प्रकाशित मिति: : 2019-10-12 03:59:03

प्रतिकृया दिनुहोस्