पेट्रोलियम पाइपलाइनमाथि डोजर ! धन्न ठूलो दुर्घटना भएन

नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमाथि डोजर चलेको छ । डोजरले पाइपलाइनमा क्षति पुर्‍याए पनि गम्भीर दुर्घटना भने भएन ।

गत बुधबार वीरगन्ज बाइपास रोड अन्तर्गत गण्डक चोकमा करिब डेढ मिटर पाइपमा डोजरले क्षति पुर्‍याएको नेपाल आयल निगम प्रदेश २ डीपो प्रमुख प्रदीप यादवले बताए ।

यादवका अनुसार वीरगञ्ज बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको हो । डोजरको दाँतले कोतरेको पाइपलाइन तत्काल फेर्नुपर्ने अवस्थामा भने नरहेको उनको भनाइ छ ।

जानाजान पाइपलाइनमा डोजर चलाइएको आरोप लगाउँदै यादवले भने, ‘एउटा ठूलो दुर्घटनाबाट विरगन्ज जोगिएको छ, तर यो गम्भीर हेलचेक्र्याइँ हो ।’

किन चलाइयो डोजर ?

पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ । पाइपलाइन सुरक्षाको लागि बिहान र बेलुका नेपाली सेनाले गस्ती गर्छ भने केही स‌वेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरीटीको गार्डले चौबिसै घण्टा रेखदेख गर्ने अमलेखगन्ज डीपो प्रमुख यादवले बताए ।

आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन जमिनको सतहभन्दा डेढ मिटर गहिराइमा छ । पाइप भन्दामाथि १५ सेन्टिमिटर बाक्लो बालुवा बिच्छ्याइएको छ भने बालुवामाथि एक फिट चौडाई र पुरै पाइपलाइन बराबर लम्बाईको वार्निङ टेप राखिएको छ । टेपको माथि माटोको सतह छ । यसका अलावा पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड लगाइको छ ।

प्रकाशित मिति: : 2019-12-13 18:00:32

प्रतिकृया दिनुहोस्