सभामुखमाथिको आरोपमा प्रहरीले अनुन्धान थाल्यो, रक्सीको बोतलदेखि फुटेको चस्मा प्रहरी नियन्त्रणमा

तस्बिरः हाम्रा कुरा डटकमबाट साभार गरिएको हो।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ।

प्रहरीले घटनास्थलमा फेला परेका सबै प्रमाणलाई नियन्त्रणमा लिएर प्राविधिक अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दियो।

स्रोतका अनुसार प्रहरीले घटनास्थलमा भेटिएको रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा र रक्सी खान प्रयोग भएको दुई वटा गिलास नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सामाग्रीलाई आवश्यक प्राविधिक परीक्षण सुरू गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना भएको आईतबार साँझ ९ बजेर ३ मिनेटमा पीडित महिलाले प्रहरीको १०० मा फोन गरेकी थिइन्।

त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वर (तीनकुने) बाट डिएसपीको टोली पीडित महिलाको घरमा ९ बजेर १९ मिनेटमा पुगेको थियो।

प्रहरी घटनास्थल पुग्दा पीडित युवतीले भने अनुसार समाभुख महरा त्यहाँ भेटिएनन्। पीडित महिलाको भनाई अनुसार प्रहरी पुग्दा महरा त्यहाबाट निस्किसकेका थिए।

त्यसपछि घटनास्थलमा भएका सबै सामाग्री, महिलाको भनाई र घटनास्थलको भिडियो रेकर्ड प्रहरीले लियो।

त्यसपछि प्रहरीले महिलालाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको थियो। महिलाले अहिले नगर्ने भोलि विचार गरौंला भन्दै नमानेको प्रहरी स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।

‘प्रहरीले रातिनै स्वास्थ्य परीक्षण र शरीरमा लागेको घाउचोटबारे केसफारम भर्न त्यही बेला प्रहरी कार्यालय आउन भन्यो,तर उनी जान नमानेपछि भोलि १० बजे कार्यालय आउन भन्दै त्यहाँबाट निस्कियो’, प्रहरी उच्च स्रोतले भन्यो।

यसैबीच घटनाको बारेमा प्राविधिक अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

बिएल नेपाली सेवासँग कुरा गर्दै डीआईजी थापाले भने, ‘हामी  घटनाको गम्भीरतालाई बुझेर अनुसन्धान गर्दैछौ।’

यसअघि महराले बुधबार दिउँसो आफूमाथि लागेको आरोपको छानबिन गर्न भन्दै राजीनामा दिएका छन्।

उनले मंगलबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार, सभामुखले उपसभामुखलाई राजीनामा बुझाउनुपर्छ। त्यहीअनुसार, सभामुख महराले उपसभामुख डा.तुम्बाहाङफे समक्ष राजीनामा बुझाएका हुन्।

उनले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

यसअघि मंगलबार बसेको नेकपाको सचिवालय बैठकले सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो 

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सोमवार साँझ केही सञ्चारमाध्यमहरूले सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएको खबरहरू प्रकाशित गरेका थिए। त्यसपछि नेपालको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको थियो।

पीडित भनिएकी महिलाको भनाइलाई उद्धृत गर्दै महराले आइतवार राति ती महिलाको डेरामै पुगेर यौन दुर्व्यवहार गरेको दाबी गरिएको थियो।

त्यसलगत्तै सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले वक्तव्यमार्फत् आरोपलाई महराको ‘राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र’ भन्दै खण्डन गरेका थिए।

यता प्रहरीले हालसम्म यस घटनाको विषयमा कुनै जाहेरी नपरेको बताएको छ।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामुख बनेका थिए।

यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो।

प्रकाशित मिति: : 2019-10-01 14:13:42

प्रतिकृया दिनुहोस्