साझा पार्टीले माग्यो सभामुख महराको राजीनामा

फाइल तस्बिर

साझा पार्टीले बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।

‘देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला ?,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको बताउँदै पार्टीले दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको जिकिर गरेको छ ।

‘अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो,’विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: : 2019-10-01 11:09:55

प्रतिकृया दिनुहोस्