पुस्तौंदेखि पिलर रक्षक

मधवा (महोत्तरी) : भारतीय सुरक्षाकर्मीको धम्की सहेर पनि सीमा रक्षा गर्न पाएकामा गर्व गर्छन् ५६ वर्षीय सिकेन्द्र मुसहर। ‘सीमामा बसेर हामीले पुस्तौंदेखि पिलर रक्षा गरिरहेका छौं’, उनी भन्छन्, ‘एसएसबीले बोर्डरमा बस्न दिन्नौं भन्दै घर भत्काइदिन्छ। भारतमै गएर ज्याला गरी पेट पाल्छौं।’

महोत्तरी सदरमुकाम जलेश्वरभन्दा पश्चिममा पर्छ मधवा गाउँ। मनरासिसवा नगरपालिका-१० मधवामा ६० परिवार मुसहर बस्छन्। सिकेन्द्र मात्रै होइन गाउँले सबै सरकारप्रति आक्रोशित छन्। उनीहरूको एउटै स्वर छ- ‘हामीले पटकपटक भोट दिएर नेतालाई जितायौं। उनीहरूले हाम्रा लागि केही गरेनन्। एसएसबीको धम्की खाएर हामीले पिलर जोगाइरहेका छौं।’

एक इन्च पनि सिमाना मिच्न नदिएको सिकेन्द्र सुनाउँछन्। ‘पिलर मर्मत हुँदा र नयाँ गाड्नुपर्दा भारत र नेपालका प्रशासनसँग हामी पनि हुन्छौं’, उनी भन्छन्, ‘नेपाली भूमि अतिक्रमण गरे चुप लाग्दैनौं। बरु हामीलाई भारतीय भनेर हेप्दा मन दुख्छ।’

प्रकाशित मिति: : 2019-11-13 08:42:29

प्रतिकृया दिनुहोस्