EXCLUSIVE : आलमपक्षले अपहरण गरेर पीडितलाई बयान फेर्न लगायो (पीडितको भिडियो बयानसहित)

रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले बम बिष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ । मङ्गलबार बिहान रातोपाटीसँग विशेष कुराकानी गर्दै बम बिस्फोटका घाइते तथा साक्षी गौरीशंकर राम चमारले आफूलाई आलमपक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् । आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेकै बेला सोमबार अपरान्ह अदालत प्रवेश गर्दै सरकारी साक्षीकारुपमा राखिएका भारत सितामढीका गौरीशंकर राम चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन दिएका थिए । तर, थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भएपनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएलगत्तै चमारले प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै रोएका थिए । साथै, आलमपक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै जिउज्यानको सुरक्षा गरिदिन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-12 20:57:24

प्रतिकृया दिनुहोस्