अस्पताल–सेवाग्राही द्वन्द्व: सेवाभाव र संयम जरुरी

काठमाडौँ, कात्तिक २५ गते । कतिपय स्वास्थ्य सेवामा बढ्दो व्यापारीकरण मौलाउँदा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्य संस्थामाथि आक्रोशका घटना बढ्न थालेका छन् ।
विगतका केही महिनामा मात्र स्वास्थ्य संस्थामा भएका आक्रमणका घटना हेर्ने हो भने एक दर्जनभन्दा बढी भइसकेका छन् । स्वास्थ्य संस्था सञ्चालकले स्वास्थ्य क्षेत्रलाई सेवाभन्दा पनि नाफामुखी रूपमा लिने र बिरामी पक्षले उपचारका लागि अस्पताल भर्ना गर्दा बिरामी मर्नै हँुदैन भन्ने सोचाइले चिकित्सक, स्वास्थ्य संस्था र बिरामीबीच अविश्वास बढिरहेको छ । यस्तो अविश्वासले स्वास्थ्य संस्था र चिकित्सक आक्रमणको निशानामा पर्दै आएका छन् ।
सर्वसाधारण र अस्पतालबीचको द्वन्द्व न्यूनीकरण नगरी प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुन नसक्ने जानकारको भनाइ छ । बिरामी पक्षलाई अस्पताल तथा चिकित्सकको लापरबाहीका कारण बिरामी तलमाथि परेमा तत्काल उजुरी गर्ने र छानबिन गरी सत्यतथ्य बाहिर निकालेर कारबाही गर्ने नियामक निकायको आवश्यकता पनि बढ्दै छ ।
कात्तिक ३ गते मात्र चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर कलेजमाथि आक्रमण भएको थियो । त्यसलगत्तै गत कात्तिक १६ गते त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा एक ५४ वर्षीय पुरुषको निधन भएको विषयलाई लिएर स्थिति तनावपूर्ण बन्यो । चाबहिलस्थित ओम अस्पतालमा समेत बिरामीको मृत्यु भएको विषयलाई लिएर अस्पतालमाथि आक्रमण भएका घटना पटकपटक बाहिर आइरहेका छन् ।

प्रकाशित मिति: : 2019-11-11 09:16:45

प्रतिकृया दिनुहोस्