पाँचौं शताब्दीदेखि पाँचपटक बनेको काष्ठमण्डप

भुइँचालोमा भत्किएको काष्ठमण्डप पुरानै स्वरूपमा पुनर्निर्माण हुँदैछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी

कथायेँ: अध्याय दुई

यज्ञमान पति बज्राचार्यलाई मैले २०७३ पुस ३ गते वसन्तपुरको सिखोँमू बहाःमा भेटेको थिएँ, जसलाई श्रीखण्ड तरुमूल महाविहार पनि भनिन्छ। विहारमा मान्छेको भिडभाड थियो। भित्र एकान्त ठाउँ नपाएर हामी बाहिर सिँढीमै बसेका थियौं। आउने–जानेहरू यज्ञमानलाई श्रद्धापूर्वक शिर झुकाएर नमन गर्थे, कोही–कोहीले मात्र नमस्कारमा टारे। यज्ञमान हरेकको शिरतिर दाहिने हात बढाएर आशीर्वाद दिन्थे। लगभग एक घन्टा सिँढीमा बस्दा बढीमा आधा घन्टा मात्र हाम्रो कुराकानी हुन पायो।

सिखोँमू बहाः र यज्ञमान दुवै काष्ठमण्डप कथासँग जोडिएका छन्। ‘यो हाम्रै पुर्खाले बनाएको हो,’ यज्ञमान आफूभन्दा ४१ वा ४२ पुस्ताअघिका लीलाबज्र बज्राचार्यले काष्ठमण्डप निर्माण गरेको दाबी गर्छन्। उनले आफ्ना पुर्खाले लेखेका पुराना कागजपत्र र टिपोट संकलन गरेका थिए। तिनै संकलन र पितापुर्खाले सुनाएका कथा समेटेर उनले २०६० सालमा किताब लेखे– लीलाबज्रः काष्ठमण्डप निर्माता। यो किताबले काष्ठमण्डप आठौं शताब्दीमा बनेको कथा भन्छ। विक्रम सम्बत् ७९८ आसपास।

प्रकाशित मिति: : 2019-09-21 09:51:20

प्रतिकृया दिनुहोस्