कोशीपीडितको रिले अनसन : एक महिनासम्म पनि सरकार मौन

कोशीपीडितको रिले अनसन : एक महिनासम्म पनि सरकार मौन

राजविराज– ६५ वर्षअघिको कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै सप्तरी, सुनसरी र उदयपुरका किसानहरु कोशी ब्यारेजको पूर्वी कन्ट्रोल रुम अगाडि एक महिनादेखि रिले अनसन बसेका छन्। तर, सरकार र सम्बन्धित निकायले उनीहरुको माग सुनुवाइ गरेको छैन। सप्तकोशी नदीमा पुल निर्माणका कारण कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ। सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको रिले अनसनमा दैनिक १० देखि २० जना किसान सहभागी हुन्छन्। आज (आइतबार) एक महिना पूरा हुँदा करिब ६ सय किसान रिले अनसनमा सहभागी भइसकेका छन्।

अनसन स्थलमा आउने–जाने र भेट गर्ने सर्वसाधारणको हिसाब हुन छोडिसक्यो। तर, किसानको आन्दोलनप्रति समर्थन र सद्भाव भने बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि तथा समर्थक र शुभचिन्तकहरु अनसन स्थलमा पुग्छन्, सकेको सहयोग गर्छन् अनि उत्साह थप्छन् र फर्किन्छन्। तर, रिले अनसनले एक महिना पार गर्दासमेत सरकारका तर्फबाट किसानको आन्दोलनका बारेमा खोजखबर समेत भएको छैन। सम्झौतामा उल्लेख भएको कुरा माग गर्दा समेत सरकारले सौतेलो व्यवहार गरेको भन्दै किसानहरु चिन्तित छन्।

प्रकाशित मिति: : 2019-09-16 07:29:48

प्रतिकृया दिनुहोस्