नेतालाई आयो, योद्धालाई आएन गणतन्त्र

धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका ९ आहाले निवासी सोममाया राई उर्फ 'रेखा' जनयुद्धकी लडाकु हुन्। तत्कालीन १० वर्षे सशस्त्र द्बन्द्बमा जति लडाइँ तथा आक्रमणहरू भए अधिकांशमा उनी सहभागी थिइन्। धेरै लडाइँहरूमा उनी साधारण घाइते भए पनि इलामको एक आक्रमणमा दाहिने हात गुमाउनुका साथै अन्य अंगमा गम्भीर चोट लाग्यो। बम बारुदका छर्राहरू शरीरबाट निकाल्न सकिएन। बाहिरी अंगको चोट ठिक भए पनि शरीरमा रहेका बम बारुदका छर्राले उनलाई सधैँ दुख दिइरह्यो। ‘देशमा जनताको शासन ल्याउनुपर्छ भनेर बन्दुक बोकेर परिवर्तनका लागि जनयुद्ध लडियो’ उनले भनिन्,‘देशमा राजतन्त्र फेरिएर संघीय गणतन्त्र आयो। तर, देशमा गणतन्त्र आएपछि नागरिकले तिरेको करबाट नेताहरू मोजमस्ती गर्दै छन्।’ देशमा गणतन्त्रको लागि लडेका उनी एउटा हातको भरमा जीवन चलाउँदै छिन्। दाहिने हात युद्धमा गुमाइन्। विशेषगरी खानपिन गर्न र सामान्य काम गर्नलाई उनलाई समस्या हुन्छ। युद्धको बेलामा हातमा गोली लागेपछि उनको उपचारको क्रममा चिकित्सकले हात काटेका हुन्। विसं.२०६२ साल चैत २१ गते तत्कालीन माओवादी पार्टीका जनमुक्ति सेनामा कार्यरत हुँदा इलाममा तत्कालीन शाही नेपाली सेनासँग भएको भिडन्तमा उनलाई गोली लागेको थियो।

प्रकाशित मिति: : 2019-09-11 12:56:04

प्रतिकृया दिनुहोस्