ढाड दुख्ने समस्या महिलामा बढी, कसरी जोगिने? यस्तो छ डाक्टरको सुझाव

ढाड दुख्दा निकै असजिलो महसुस हुन्छ। यसले दैनिक कामकाजमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ। प्रायः ढाड दुख्ने समस्या घरेलु उपचारले पनि केही दिनमा ठीक हुन्छ। तर यो समस्या एक पटक देखिएपछि फेरि फेरि पनि दोहोरिने सम्भावना बढी हुन्छ।

गह्रौँ समान उचाल्दा तथा अपर्झट ढाडमा बल पर्ने काम गरेमा मांसपेशी तन्कने, खुम्चिने तथा च्यातिने हुन्छ, जसले मेरुदण्डको हड्डी टुट्न सक्छ। मेरुदण्डमा आर्थ्रिटिस(मेरुदण्डमा हुने संक्रमण), ओस्टोपोरोसिस(मेरुदण्डको जोर्नी खिइनु) तथा कर्भेचर (मेरुदण्ड अनियमित तरिकाले बांगिनु) हुँदा त्यसले ढाड दुख्ने समस्या निम्त्याउने राष्ट्रिय ट्रमा सेन्टरका कन्सल्टेन्ट अर्थोपेडिक तथा स्पाइनल सर्जन डाक्टर सन्तोष पौडेल बताउँछन्।

कतिपय अवस्थामा मेरुदण्डमा ट्युमर हुँदा पनि ढाड दुख्न सक्ने उनले बताए। डा पौडेलका अनुसार यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिन्छ।

'उमेर बढ्दै जाँदा महिलाहरुमा महिनावारी रोकिएपछि एस्ट्रोजिन नामक हड्डीलाई बलियो बनाउने हर्मोनको कमी हुन्छ। जसले गर्दा पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ', डा पौडेलले भने।

नेपालमा ढाडको चोटपटक लाग्नुमा यहाँको भौगोलिक अवस्था र कामको प्रकृति पनि भएको उनको भनाइ छ। उनी भन्छन्, 'नेपालमा डाँडाकाँडा धेरै छन्। मानिसहरु घाँसदाउरा गर्न डाँडापाखामा जाने र रुखमा चढ्ने गर्छन्। भीर तथा रुखबाट लडेर ढाडमा चोटपटक लागेका मानिसहरु उपचारको लागि धेरै आउने गरेका छन्।'

ढाड दुख्ने समस्या १८ देखि ३० वर्षसम्मका मानिसहरुमा इन्टर भर्टिब्रल डिस्क अर्थात मेरुदण्डको जोर्नीको कमजोरीले हुने उनले बताए। त्यस्तै ६० वर्षभन्दा माथिका मानिसहरुमा मेरुदण्डको क्यान्सर, मेरुदण्ड खिइनु तथा नशा च्यापिने कारणले यो समस्या देखा पर्ने उनको भनाइ छ।

तत्काल दुखाइ कम गर्ने तरिका

१. बरफले सेक्ने

ढाड दुख्न शुरु भएको केही छिन मै दुखेको भागमा बरफ वा चिसो वस्तुले सेक्ने गरेमा दुखाइ कम हुने डा पौडेलले बताए। यो विधि ढाड दुख्न शुरु भएको २४ देखि ७२ घण्टाभित्रको समयको लागि उपयुक्त हुन्छ। त्यसपछि भने तातो वस्तुले सेक्नुपर्छ।

दुखेको भागमा एक पटकमा २० मिनेटसम्म सेक्नुपर्छ। यो विधि २४ घण्टाको समयमा १० पटक भन्दा बढी गर्नु हुँदैन। बरफले सेक्दा कपडामाथिबाट सेक्नुपर्छ।

२. तातोले सेक्ने

शुरुको अवस्थामा चिसो पदार्थले सेकिसकेपछि तातो पदार्थले पनि दुखेको भागमा सेक्न सकिन्छ। तातोले सेक्दा रक्तसंचार प्रवाह सहज हुन्छ र दुखाइ कम हुन मद्दत पुग्छ।

प्रकाशित मिति: : 2019-09-09 16:06:17

प्रतिकृया दिनुहोस्