असममा एकलाख गोर्खा चिन्तित, थर फेर्दा पनि देशै गुम्ने डर

तस्बिरः एजेन्सी

गुवाहटी । भारतको असमको बोन्डा हिलकी ७० वर्षीया गोमा शर्मा र उनका ४२ वर्षीया छोरा रामु ३१ अगस्ट अर्थात् अघिल्लो शनिबारका दिन नेशनल रजिस्टर अफ सिटिजन्स( एनआरसी)को सूची प्रकाशित भएपछि चिन्तित छन् ।  सो परिवार गोर्खा समुदायसँग सम्बन्धित छ । उनीहरु असममा दूध बेचेर गुजारा गरिरहेका छन् । रामुका बाबु उमापति शर्मा भारतको स्वतन्त्रताभन्दा अघि नै नेपालबाट असम पुगेका थिए । 

उनको सर्भिस रेकर्डअनुसार उनी सन् १९४३ मा असम राइफल्समा सामेल भएका थिए । १९६९ मा अवकाश पाएपछि उनी त्यहीँ बस्दै आएका थिए ।  उनको सर्भिस रेकर्डमा उनको थर शर्माको सट्टा जैसी लेखिएको थियो । यसले गर्दा उनको ६ जनाको परिवार अहिले सूचीबाट बाहिर परेको छ । जसमा उमापतिकी पत्नी समेत छन् ।

 
 
 

 

एनडीटीभीसँगको कुराकानीमा उनी भन्छन्,“मेरो बाबाले देशको सेवा गर्नुभएको थियो । त्यसबापतको सजाय हामीले अहिले पाइरहेका छौं । यो भन्दा बढी हामी के भन्न सक्छौं ?”  बोन्डा हिल्समा बस्ने पूर्वसैनिकका अन्य केही परिवारका सदस्य पनि ३१ अगस्टमा निकालिएको अन्तिम सूचीमा परेका छैनन् ।
उनीहरुमध्ये केही न्यायाधीकरणको कार्यालयमा गएर आफूहरु भारतीय भएको बताइरहेका छन् । 

उनीहरु फेरि एकपटक सूचीबाट बाहिर परेका छन् ।  “मैले न्यायाधीकरणमा २०१२ देखि २०१६ सम्म लडेँ । म अहिले सूचीबाट फेरि बाहिर परेँ । यसको मतलब मैले फेरि न्यायाधीकरणको अगाडि उपस्थित भएर अग्निपरीक्षा दिनुपर्नेछ,” स्थानीय खर्कबहादुर क्षेत्री भन्छन् । 
उनी दूध बेचेर चारजना परिवारका सदस्यको गुजारा चलाइरहेका छन् । असममा रहेका गोर्खामध्ये धेरैजसो गोर्खा सेनामा काम गरेकाहरुका परिवार छन् । 

त्यसैगरी बेलायती शासनको क्रममा आएका किसान र दूध बिक्रीको काम गर्नेहरु छन् । अनुमानअनुसार गोर्खा समुदायका कूल २५ लाख मानिसमध्ये एकलाख सूचीबाट बाहिर परेका छन् ।  असमका स्वतन्त्रता सेनानीको रुपमा चिनिने छबिलाल उपाध्याय दोस्रो पुस्ताका नेपाली हुन् जो असममा जन्मेका थिए । 
उनी असम प्रदेश कंग्रेस कमिटीका अध्यक्ष पनि भएका थिए । तर, उनकी नातिनी मञ्जुदेवी र उनका परिवारका सदस्यहरुको नाम सूचीमा छैन । 

सूचनाको अधिकार प्रयोग गरेर राज्य सरकारलाई राखिएको जिज्ञासामा उनी ‘शंकास्पद मतदाता’ नभएको जवाफ राज्यका तर्फबाट दिइएको छ ।  गोर्खा समुदायका मानिसहरु जो असमलाई आफ्नो घर मान्छन् उनीहरु एनआरसीले अन्याय गरेको बताउँछन् ।  “असम हाम्रो भूभाग हो । भारत हाम्रो मातृभूमि हो । सूचीमा गोर्खा समुदायलाई टार्गेट गर्न खोजिएको छ,” अवकाश प्राप्त सैनिक अफिसर मोहन शर्मा भन्छन् ।

प्रकाशित मिति: : 2019-09-09 07:46:06

प्रतिकृया दिनुहोस्