के गर्दै छ विप्लव नेकपा ?

तस्बिरः नयाँ पत्रिका

प्रतिबन्धपछिको ६ महिनामा विप्लवका ७६१ नेता–कार्यकर्ता पक्राउ १८६ अझै सरकारको नियन्त्रणमा, प्रहरीबाट मारिए दुई जिल्ला इन्चार्ज

प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेता/कार्यकर्ता पक्राउ परेका थिए । 

प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेता/कार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जनाले आफैँले बोकेको बम विस्फोटमा ज्यान गुमाएका थिए ।

प्रहरीको गोलीबाट ७ जेठमा भोजपुरमा तीर्थराज घिमिरे, ५ असारमा सर्लाहीमा कुमार पौडेल र २५ असारमा भोजपुरमा नीरकुमार राईको मृत्यु भएको थियो । पौडेल विप्लवका सर्लाही इन्चार्ज हुन् भने भोजपुरमा मारिएका राई ओखलढुंगा इन्चार्ज हुन् । प्रहरीले दोहोरो भिडन्तमा मारिएको भने पनि पक्राउ गरी आफ्ना नेता–कार्यकर्ताको हत्या गरिएको विप्लव समूहले दाबी गरेको छ । 

आफैँले बनाएको टाइम बम विस्फोट भएर १२ जेठमा उपत्यकामा पाँच विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यस्तै ३ साउनमा कैलालीको धनगढीमा बोकेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । यो पार्टीले राखेको बम विस्फोट हुँदा एनसेल कार्यालय नख्खुमा एकजना सर्वसाधारणको मृत्यु भएको थियो ।

विप्लवको प्रभाव  सबैभन्दा धेरै प्रदेश ४ र ५ मा 
विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ ।

प्रहरीको तथ्यांकअनुसार गत ६ महिनामा प्रदेश ४ मा मात्रै विप्लव समूहका एक सय ५५ नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक सय ३३ विरुद्ध मुद्दा दर्ता भएको छ । १४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

२२ जनालाई सोधपुछपछि छाडिएको छ भने एक सय ६ जनालाई तारेखमा छाडिएको छ । बाँकी १३ जना माथि भने अनुसन्धान जारी छ । सोही अवधिमा प्रदेश ५ मा एक सय ४७ पक्राउ परेका छन् । जसमध्ये चारजना सोधपुछपछि छुटे । बाँकी एक सय ४३ विरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये २७ जना पुर्पक्षका लागि जेलमा छन् । १६ जनामाथि अनुसन्धान जारी छ । एक सयजना भने तारेखमा छुटेका छन् । 

प्रकाशित मिति: : 2019-09-09 07:22:34

प्रतिकृया दिनुहोस्