दैलोमै प्रहरी पुग्दा पनि उजुरी दिँदैनन् बेचिएका चेली

भदौ पहिलो साता नवलपरासी पश्चिमको एउटा घरमा प्रहरी पुग्दा त्यो घरका मात्रै होइन गाउँले पनि डराए। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिल्वाल नेतृत्वको प्रहरी टोली कसैलाई पक्राउ गर्न आएको होला भन्ने उनीहरूले शंका गरे।

तर, प्रहरीले जब त्यहाँ पुग्नुको कारण बतायो, सबै दङ्ग परे। वाह...यस्तो पो प्रहरी। हाम्रो पुलिसले यस्तो पनि गर्दो रहेछ!

हत्तपत्त गाउँमा प्रहरी पस्दैन। पसिहाल्यो भने कसैलाई हतकडी लगाएर लैजान्छ। उनीहरूले त्यसअघि यस्तै देखेका थिए।

यस पटक प्रहरी त्यहाँ कसैलाई पक्राउ गर्न गएको थिएन। न त अपराधी खोज्दै पुगेको थियो। त्यो घरकी एक महिला दुई महिना पहिले कुबेतबाट फर्किएकी थिइन्। रोजगारीका लागि कुबेत पुगेकी उनले त्यहाँ अनेक समस्या भोग्नुपर्‍यो। आफू समस्यामा परेको भन्दै गएको जेठमा कुबेतस्थित नेपाली दूतावासमा निवेदन दिइन्।

उद्धार गरेर दूतावासले सेल्टरमा राख्यो। पछि ट्राभल डकुमेन्ट बनाइदियो। घरबाट टिकटका लागि रकम मगाएर उनी नेपाल फर्किइन्। नेपाल फर्किएपछि उनले आफूलाई फसाउने दलालविरुद्ध उजुरी दिइनन्। उनी उजुरी दिन नआएपछि प्रहरी नै उनलाई खोज्दै घरै पुगेको थियो।

मानव बेचबिखन अनुसन्धान ब्युरो टोली नवलपरासीमात्रै होइन एकसाथ १४ जिल्लामा यस्तै पीडित खोज्दै गयो। भदौ ४ बाट बाटो लागेका प्रहरीका तीन टोली १४ जिल्ला पुगेर ८ गते फर्किए।

फर्किएपछि दलालबारे बताउनै मानेनन्

दूतावासमा ५७ जनाले उद्धारका लागि निवेदन दिएका थिए। तर, नेपाल फर्किएपछि उनीहरूमध्ये कसैले पनि जाहेरी दिएनन्। आफूलाई त्यहाँ पठाउने दलालका बारेमा बताउन आएनन्।

उनीहरूले कुबेतस्थित नेपाली दूतावासमा निवेदन दिएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यसबारे बुझ्न र १५ दिनभित्र सत्यतथ्य पत्ता लगाउन निर्देशन दियो।

गृहको निर्देशनपछि प्रहरी महानिरीक्षकले मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी ईश्वरबाबु कार्कीको संयोजकत्वमा पाँच सदस्यीय टोली बनाए। समितिमा एसपी गोबिन्द थपलिया, डिएसपी राजकुमार सिल्वाल, इन्सपेक्टर सुवास हमाल र रुपा लामा बसे।

कुबेतबाट उद्धार गरी फर्काइएका ४६ जनालाई नै प्रहरीले सम्पर्क गर्न कोशिश गर्‍यो। तर, कतिपयसँग सम्पर्क हुन सकेन। सम्पर्क भएकाले पनि नजिकको प्रहरी कार्यालयमा पुगेर उजुरी दिन तयार भएनन्। त्यसपछि ब्युरोले तीन टोली बनाएर पीडीतका घरदैलोमै पठाएको थियो।

प्रकाशित मिति: : 2019-09-08 11:25:27

प्रतिकृया दिनुहोस्