कमलसिंह ऐरीः पश्चिमबाट उदाएका अर्का स्टार

‘सिनियर टिममा पर्ने सधैँको सपना हो। तर सजिलो छैन्, अहिलेको अवस्थामा धेरै मेहनत गर्नुपर्ने देखेको छु। मेहनत गर्दै जान्छु। भनिन्छ नि हरेक कुरा सही समयमा आउँछ। म पनि त्यही समयको पर्खाइमा छु।’

 

नेपाली क्रिकेटमा सुदूरपश्चिमका खेलाडीहरुको योगदान विशेष छ। एक समय राष्ट्रिय टोलीका अधिकांश खेलाडी सुदूरका हुन्थे। विनोद भण्डारी, नरेश बुढाऐर, धीरेन्द्र चन्द, चन्द्र सावद, भुवन कार्की, दीलिप नाथ, राजु रिजाल, सुनिल धमला, ललितसिंह भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत सुदूरका खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसके।

उमेर समूहको टोलीमा पनि सुदूरका खेलाडीको प्रभावशाली रहँदै आएका छन्। भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरीले यू–१९ टोलीको कप्तानी नै गरिसके। यस्तै श्रीलंकामा जारी यू–१९ एसिया कप खेलिरहेको नेपाली यू–१९ टोलीमा अहिले पनि ४ जना खेलाडीहरु सुदूरका छन्, भीम सार्की, सन्दीप जोरा, खडकबहादुर बोहरा र कमलसिंह ऐरी।

तीन वर्ष उमेर समूहको प्रतियोगिता खेलिसकेपछि कमलसिंह ऐरी यसपटक अन्तिम पटक यू–१९ टोलीको जर्सीमा देखिदैँछन्। उमेर हदका कारण उनी यू–१९ टोलीबाट रिटायर्ड हुन लागेका हुन्। कमल १९ वर्ष नाघ्न तीन महिना बाँकी छ। त्यसबीचमा नेपालको कुनै अन्तर्राष्ट्रिय खेल नभएकाले यो नै उनको अन्तिम यू–१९ खेल हुनेछ।

सुुदूरका अधिकांश खेलाडीहरुले यू–१९ मा राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। त्यसैको पछिल्लो उदाहरण हुन्, दीपेन्द्रसिंह ऐरी। यू–१९ को उनको प्रभावशाली प्रदर्शनले नै उनलाई नेपाली सिनियर टिमको नियमित सदस्य बनाएको थियो। अहिले कमल पनि त्यही बाटोमा छन्। यू–१९ को तीनवर्षे यात्रामा प्रभावशाली प्रदर्शन गरेका यी मध्यम तीव्रगतिका बलरलाई आगामी दिनमा सुदूरको बिँडो धान्ने खेलाडीका रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2019-09-07 14:43:46

प्रतिकृया दिनुहोस्