लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त रहेको दाबी गरेका छन् ।

गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन समारोहमा उनले भने, “लोकतन्त्रमा प्रेसको जीवन अनन्त छ, जनताले स्थापित गरेको लोकतन्त्र गोरखापत्रले बचाउनुपर्दछ ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्र प्रणालीलाई राजनीतिक प्रणालीले स्थापित गरिसकेको उल्लेख गर्दै नयाँ नेपाल निर्माणका बहुआयामिक स्वरुप निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले अब अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने समय आएको छ ।”

गोरखापत्र दैनिक सरकारको मुखपत्र नभएर राष्ट्र र जनताका मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले लोकतन्त्र भएको देशमा नै प्रेस बाँच्न सकिने कुरामा जोड दिए ।मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिताको इतिहास गोरखापत्रबाट शुरु भएको प्रसङ्ग उल्लेख गर्दै विकासका दुई आयाम भौत्तिक र मानवीय विकास भएको बताए ।

उनले सरकारी जग्गा संरक्षित गर्न सकियो भने हाम्रा भावी पुस्ताका लागि अर्को संरचना बनाउन सजिलो हुने भन्दै गोरखापत्र पत्रिका मात्र नभएर भवन, मेसिन र रोजगार सिर्जना गर्ने स्थान भएकाले यसले गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको हुनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारन हुने जानकारी पनि दिए ।प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्र नयाँ अध्यायबाट शुरु भएकोमा खुशी व्यक्त गर्दै संसार खुल्ला भएर नै प्रतिस्पर्धा बढेको र यसमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिए ।

मन्त्री कार्कीले गोरखापत्रलाई श्रेष्ठकर एवं पठनीय बनाउन प्रतिस्पर्धामा आउनु सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिए ।उनले मुलुकका सबै सरकारी सञ्चार माध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने पनि बताए । रासस

प्रकाशित मिति: : 2019-09-19 14:01:07

प्रतिकृया दिनुहोस्