प्रतिनिधिसभा: तीनवटा विधेयक स्वीकृत, भूमि सम्बन्धी विधेयकमा काँग्रेसको असहमति कायमै

फाइल तस्बिर

राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त विभिन्न ३ वटा विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभाबाट भएको संशोधनसहित स्वीकृत गरेको हो ।

गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो । छलफलमा कुनैपनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।

त्यस्तै “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा भाग लिदै काँग्रेस सांसद पुष्पा भुषालले राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताइन् । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसैअनुसारको व्यवस्था विधेयकमा गरिएको बताएका थिए । उनले कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए । मन्त्री ज्ञवालीका जवाफपछि सभामुख महराले विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।

यता भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ पनि बहुमतले स्वीकृत भएको छ । भूमि विधेयकमा गरिएको व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले असहमति जनाउँदै आएको छ ।

भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद र राजपाका सांसदहरुले सुकम्बासीको नाममा राज्यको जग्गा बाड्ने ढंगले नीति बनाइएको भन्दै विरोध गरेका थिए । उनीहरुले भूमि नीति बनाउन खोजेको कि सर्वसाधरणलाई भूमि विहिन बनाउन खोजेको भनी मन्त्रीलाई प्रश्न गरे ।

सांसद लक्ष्मी परियाले भू–माफियालाई उकास्ने गरि सरकारले सार्वजनिक जग्गा मास्ने गरि ऐन ल्याएको भन्दै विरोध गरिन् ।सांसद लक्ष्मणलाल कर्णले सार्वजनिक जग्गा मास्ने ऐनले मुलुक अघि बढ्नुको सट्टा पछि पर्ने भन्दै पुर्नविचार गर्न मन्त्रीलाई आग्रह गरे ।
सांसद प्रमोद शाहले बन ऐनले गरेको व्यवस्थासंग बाझिने गरि वन क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीका लागि एक पटकका लागि जग्गा दर्ता गर्न सकिने गरि व्यवस्था गरिएको तर्फ मन्त्रीको ध्यानाकर्षण गराए । सांसद प्रेम सुवालले हदबन्दी भन्दा बढी जग्गा भएको भएपनि उद्योगीलाई हदबन्दी नलगाउने व्यवस्थाले सामाजिक न्याय कायम गर्न नसक्ने भन्दै विरोध गरे ।

सांसद पुष्पमा भुसाल गौतमले पर्ती, ऐलानी र गौचरण मास्ने र राज्य नियन्त्रण गरेर सुकुम्बासीको नाममा जग्गा बाड्ने मनसायले सरकारले ऐन ल्याएको भन्दै विरोध गरिन् । सांसद एकवाल मियाँले बन क्षेत्रको भूमि प्रयोगको सम्बन्धमा विधेयकमा गरिएको व्यवस्था विरोधाभाषपूर्ण भएको भन्दै त्यसलाई स्पष्ट पार्नुपर्ने धारणा राखे ।

सांसद सञ्जय कुमार गौतमले ठूला–ठूला जग्गा जमिनहरु कम्पनी र उद्योगका नाममा गरि पूँजीपतिहरुलाई संरक्षण गर्ने र मध्यमवर्गिय किसानलाई मार्ने गरि नीतिगत भ्रष्टाचारको संस्थागत विकास गर्ने कामलाई संघीय संसदले औपचारिकता दिने काम गरेको भन्दै आपत्ती जनाए ।

विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहिन सुकुम्वासीको समस्या सम्बोधन गर्ने गरि विधेयक ल्याइएको स्पष्ट पारिन् । सरकारले निजी क्षेत्रसँगको सहकार्य र विकासलाई प्राथमिकतामा राखेकाले कम्पनी वा उद्योग व्यवसायको विकास र प्रवद्र्धनका लागि सिमा निर्धारण गर्दा उद्योगहरु फस्टाउन नसक्ने भएकाले जमिनसँग जोडिएर आएका गुनासालाई सही ढंगले सम्बोधन गर्ने गरि नीतिगत रुपमा लचिलो भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: : 2019-09-19 13:12:32

प्रतिकृया दिनुहोस्