‘महिला नेतृत्व विकासका लागि सामूहिक पहल आवश्यक’

साउथ एसियन डेभलपमेन्ट फोरमद्धारा शुक्रवार काठमाडौंमा आयोजना गरिएको सार्क देशहरुको अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनमा उपस्थित प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडा लगायत । तस्वीरःरासस

अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एसियाका महिलाको नेतृत्व विकासका लागि सामूहिक पहल आवश्यक भएको बताएका छन्।

दक्षिण एसियाली महिला विकास मञ्चद्वारा शुक्रबार राजधानीमा आयोजित ‘अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०१९’ को उद्घाटन गर्दै उनले दक्षिण एसियाका महिलालाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा बलियो बनाउन सामूहिक पहल गरिनुपर्नेमा जोड दिए।

महिलालाई सफल बनाउन शिक्षा आवश्यक भएको मन्त्री खतिवडाको भनाइ थियो। नेपालको सन्दर्भमा महिलाको नेतृत्व विकासका लागि संवैधानिक रुपमा स्थानीय तहदेखि नै प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए। मन्त्री खतिवडाले थप अधिकारका लागि एकीकृत सङ्घर्ष गर्नुपर्नेमा जोड दिए। पछिल्लो पटक विकास भएको सूचना, सञ्चार र प्रविधिको विकासको भरपुर प्रयोग गरी महिलालाई उद्यमशीलतातर्फ केन्द्रित गर्ने सरकारको लक्ष्य रहेको उनले बताए।

नेपालको सन्दर्भमा अहिले पनि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकालगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता रहेको मन्त्री खतिवडाले बताए। महिला अधिकारकर्मी भारती सिलवाल गिरीले लैङ्गिक समानताका लागि महिला र पुरुषबीच नै एकता हुनुपर्ने बताए।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा पर्यटन क्षेत्रमा लैङ्गिक समानता, सूचना, सञ्चार तथा प्रविधिमा महिला समानता, महिला उद्यमीको क्षमता विकासलगायत विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: : 2019-09-13 18:48:47

प्रतिकृया दिनुहोस्