सागमा पदक जित्ने खेलाडीलाई आज नगर परिक्रमा गराइँदै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ ।फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकविजेता खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराईने भएको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा घुमाईने जनाएको छ।

पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गराइने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए।

त्रिपुरेश्वरबाट सुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्नेछ।

पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने छ।

मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको थियो।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गरेका छन्।

एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ। यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ।

स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्ने छन्।

यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गरेका छन्।

यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो।

प्रकाशित मिति: : 2019-12-13 07:38:53

प्रतिकृया दिनुहोस्