यूएई जाने श्रमिकसँग बढी रकम लिने रसुवा ओभरसिजमा छापा

तस्बिर: बिएल

वैदेशिक रोजगार विभागले यूएई जाने दुई श्रमिकसँग बढी रकम लिने एअरपोर्टस्थित रसुवा ओभरसिजमा छापा मारेको छ।श्रमिकसँग पैसा मागिरहेको सूचनाको आधारमा ओभरसिजमा छापा मार्दा दुई श्रमिकबाट एक लाख २५ हजार लिइरहेको फेला परेको विभागले जनाएको छ।

यूएईको तमायाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेबरका लागि महिनाको आठ सय दिर्हाम तलब पाउने भन्दै रसुवा ओभरसिजले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ मागेपछि सुरेन्द्र राना मगर ,बालकृष्ण गरंजा मगर, समिर गरंजा मगर, शन्तबहादुर गरंजा मगर र योगबहादुर गुरमछानले विभागमा निवेदन दर्ता गराएका थिए।

विभागको टोली म्यानपावर कार्यालय पुग्दा एजेण्ट जितबहादुर बम्जनले योगबहादुर गुरमछानबाट ७० हजार र शन्तबहादुर जर्गा मगरबाट एक लाख १० हजार बुझिसकेका तथा बाँकी तीन जनासँग रकम लिने तयारी रहेको अवस्थामा थिए।

रकम बुझ्न एजेण्ट जीतबहादुरलाई खटाएको म्यानपावर सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ।

विभागका अनुसार पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति पनि भइसकेको तर भनेजति रकम नदिएका कारण म्यानपावरले उडान रोकेको थियो। विभागको टोलीले पाँचै जनालाई सरकारको नियम अनुसार पठाउन र नगद लिएको रकम श्रमिकलाई फिर्ता गर्न कागज गराएको छ।

प्रकाशित मिति: : 2019-12-09 08:52:11

प्रतिकृया दिनुहोस्