भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न

फाइल तस्बिर

भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिएको हो।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको भन्दै पुनर्निर्माणको अवस्था सन्तोषजनक रुपमा अधि बढिरहेको समितिमा जानकारी दिए। उनले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्ड लगायतका संरचनाको पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए।

उनले भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माणको क्रममा रहनुका साथै ११ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ५८ प्रतिशत सम्पन्न र १४ प्रतिशत निर्माणाधीन रहेको बैटकमा जानकारी गराए।

भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत र्निर्माणाधीन रहेको उनको भनाई छ।

समिति सभापति कल्याणी खड्काले समितिको निर्देशनअनुसार काम भएकोमा खुशी व्यक्त गर्दै एकजना भूकम्पपीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिनु पर्ने सुझाव दिए। उनले सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसदको पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन निर्देशन समेत दिए।

बैठकमा सांसदहरुले पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै प्रवलीकरणका साथै पछिल्लो समयमा रानीपोखरी, धरहराको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै बसन्तपुर क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणमा अझ बढी ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2019-11-22 15:51:58

प्रतिकृया दिनुहोस्