जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालत जाने

फाइल तस्बिर:बिएल

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा जेल चलान भएका पूर्वसभामुख कृष्णबहादुुर महरा पुर्पक्षका लागि उच्च अदालत जाने भएका छन् ।

फौजदारी कार्यविधी संहिताको दफा (७३) अनुसार महराले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिने महराको पक्षबाट कानून व्यवसायी रहेका पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठले बताए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा (७३) मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।उनलाई थुनाका लागि  डिल्लीबजार कारागारमा पठाइएको छ ।

बन्द इजलाशमा भएको थुनछेक बहसमा महराका महराका तर्फबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।

महरा पक्षका कानुन व्यवसायीहरुले रोशनीमाथि बलात्कारको प्रयास नगरेकाले साधारणा तारेखमा छुट्नुपर्ने माग गरेका थिए। तर सरकारी वकिलहरूले भने शाहीमाथि बलात्कार प्रयास गरेको तत्कालीन अवस्थामा प्राप्त प्रमाणहरूले पुष्टि गरेको दाबी गरेका थिए।

बहसमा पीडित भनिएकी रोशनी शाही पनि उपस्थित थिइन् । महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्ने उजुरी प्रहरीमा आफैंले दिएको कुरा उनले बहसका क्रममा बताएकी थिइन् ।

 महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको थियो ।

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको थियो ।

सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको मुद्दामा बयान दिन उनी आइतबार अदालत उपस्थित भएका थिए। बिहीबार अबेर मात्र मुद्दा दायर भएकाले शुक्रबार अबेरसम्म पनि महरालाई बयान गराइएको थियो।

बन्द इजलासमा लिइएको बयानमा उनले आफू रोशनीको कोठामा नपुगेको दाबी गरेका थिए।

 

प्रकाशित मिति: : 2019-11-04 18:02:58

प्रतिकृया दिनुहोस्