विवादास्पद छवीका सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त

बिएल

सन् २०१४ मा एमबिबिएस इन्ट्रान्स परीक्षामा प्रश्नपत्र बेचेको आरोपमा कुनै बेला नेपाल पुलिसले खोजी गरेको गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव नियुक्त भएका छन्।

२०७२ सालमा विवादास्पद रुपमा गठन भएको नेपाल क्रिकेट संघको तदर्थ समितिको अध्यक्ष पदमा समेत नियुक्त भएका सिलवाललाई सोमबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पद तथा गोपनीयताको सपथ दिलाए।

उनी २०६३ सालमा नेपाल क्रिकेट संघको सदस्य नियुक्त भएका थिए। सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन्। प्रधानमन्त्री केपी ओली युवा संघको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिए।

सिलवाललाई मन्त्रीस्तरीय निर्णयबाट सोमबार ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो। उनी भलिबल संघबाट मनोनित भएर पहिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका थिए। यसपछि उनलाई मन्त्री विश्वकर्माले सदस्य–सचिवको भूमिका दिएका हुन्।

असार ९ मा केशवकुमार बिष्टको कार्यकाल पुरा भएपछि सदस्य–सचिवको पद रिक्त थियो।

परिषद्को सदस्य–सचिव नियुक्त भएपछि सिलवालले आफू जागिर खान नआएको भन्दै प्रधानमन्त्री र खेलकुद मन्त्रीको आग्रहले खेलकुदमा आएको बताए।

उनले आफ्नो पहिलो प्राथमिकता आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलता पूर्वक सम्पन्न गराउने रहेको बताए। ‘मेरो लागि चुनौति धेरै छ। साग गेम सुरु हुन धेरै समय छैन,’ सपथग्रहण कार्यक्रममा सिलवालले भने।

प्रकाशित मिति: : 2019-07-08 22:08:12

प्रतिकृया दिनुहोस्