सिन्धुली पुगेर मन्त्री खड्काले भनेः प्रमाणबिना गृहमन्त्रीको राजीनामा माग्नु अव्यवहारिक

Break n Links
Break n Links

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन्।

सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका मन्त्री खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे आफ्नो धारणा व्यक्त गरेका हुन्।

‘देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छन्। केहि हुँदैपनि छ। धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ। त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’ मन्त्री खड्काले भने।

उनले केही तत्वहरू सामाजिक सञ्जाललगायतमा हो कि जस्तो लाग्ने खालको हल्ला फैलाएर जनमानसमा भ्रम छर्ने प्रयास गरिरहेको उल्लेख गर्दै यस्ता भ्रामक गतिविधिबाट सचेत रहन पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकलाई आग्रह गरे।

गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाणबिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यवहारिक रहेको धारणा राखे।

‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र? कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’ मन्त्री खड्काको स्पष्ट भनाइ थियो।

ऊर्जा मन्त्रालयको चालु आर्थिक वर्षको बजेट र नीति कार्यक्रमबारे जानकारी गराउँदै मन्त्री खड्काले यो बजेट सन्तुलित भएको र कार्यान्वयनमा गएपछि यसको प्रभाव जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने दाबी गरे।

उनले ऊर्जाक्षेत्रबाटै मुलुकमा समृद्धि हासिल हुने र गरीबी निवारण हुने बताउँदै उनले सरकार गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै बिनाधितो दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर उपलब्ध गराउने नीति ल्याएको बताए।

केही भएन भन्ने भाष्य सिर्जना गर्नेहरू बढेपनि यथार्थ त्योभन्दा फरक रहेको बताए। उनले आफ्नै कार्यकालमा क्षेत्रीय ऊर्जा व्यापारतर्फ नेपालले उल्लेखनीय सफलता हासिल गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री शुरु गरिएको दाबी पनि गरे। 

अब भारतसँग १० हजार र बंगलादेशलगायत तेस्रो मुलुकसँग पाँच हजार गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने सुनिश्चितता कायम भएको बताए। यसले देशको आर्थिक सबलीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

समाजमा बढ्दो असन्तोष, निराशा र हल्लाका कारण उत्पन्न नकारात्मक वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री खड्काले संयमित भएर आफू मात्रलाई नभई आफ्ना सन्तानको भविष्यसमेत हेरेर देश निर्माणको अभियानमा जुट्न आह्वान गरे।

‘समाजलाई भड्किन नदिऔं, देश बनाउने अरू होइन, हामी आफैं हौं,’ मन्त्री खड्काको अपिल गरे।

प्रकाशित मिति: : 2025-06-02 18:39:00

प्रतिकृया दिनुहोस्