मङ्गलबार, २२ जुलाई २०२५

बिपी कोइराला: एक युगका एक राजनेता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) को ४३औं स्मृति दिवस आज देशभरि मनाइँदै छ। 

देशको प्रजातान्त्रिक स्थापनाका लागि आफ्नो सारा जीवन कठोर आन्दोलनमा समर्पित गरेका बिपीलाई ‘महामानव’ भनेर पनि राजनीतिमा चिनिन्छ। २०१५ सालमा पहिलोपटक देशमा आम निर्वाचन भएको थियो र त्यसपछि उनी २०१६ सालमा देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। 

तर डेढ वर्षपछि तत्कालीन राजा महेन्द्रले सत्ताशासन आफ्नै हातमा लिएर प्रधानमन्त्री कोइरालालगायत देशका सबैजसो राजनीतिक दलका नेताहरूलाई जेल हालेका थिए। त्यसअघि राणासँग लड्दा र त्यसपछि बिपीका लगभग १५ वर्षहरू जेलमा बिते। बाँकी भारतमा उनले निर्वासित जीवन बिताउनुपर्‍यो। 

भारतमा बसेर नेपालमा पञ्चायत विरुद्ध आन्दोलन चलाइरहेका बिपी २०३३ सालमा ‘मेलमिलाप’को नीति लिएर देश फर्किएका थिए। उनको त्यो मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक ठानिन्छ। 

प्रजातान्त्रिक समाजवादको राजनीतिक दर्शन र सिधान्द्धलाई जग बनाएर उनैले आजको नेपाली काँग्रेस जन्माएका थिए। त्यही सिद्धान्तमा आज पनि नेपाली काँग्रेस देशको पहिलो पार्टीका रुपमा छ। 

राजनीतिसँगै नेपाली साहित्यमा पनि उनले अतुलनीय योगदान दिएका छन्। मनोवैज्ञानिक र यथार्थवादी धारमा उनले नेपाली साहित्यलाई नयाँ मोड दिए। 

 ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’लगायतका उनका करिब आधा दर्जन उपन्यासहरू प्रकाशित छन्। 

त्यस्तै ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ लगायतका पुस्तक प्रकाशित छन्। 

त्यस्तै उनका आत्मवृत्तान्त राजनीतिक दर्शनकै किताबका रुपमा लिइन्छ। 

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए। 

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले शाही नेपाली सेनाको शक्तिका आडमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।

एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। 

भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्‍याउन योगदान दिए। 

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो।
 
बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुनःनिर्माण गरिएको छ।

सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ।

बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?