
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदमा १८ वर्षदेखि जापानमा बसोबास गर्दै आएका सिद्धार्थ श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।
टोकियोमा आयोजित एक साधारण र संयमित कार्यक्रममार्फत उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरे।
श्रेष्ठ एनआरएनए जापानमा प्रवक्ता, महासचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सम्हाल्दै नेतृत्वको अनुभव बटुलिसकेका छन्। तर, उनले आफ्नो उम्मेदवारी कुनै तामझाम वा भव्य प्रचारप्रसारविना प्रस्तुत गरे। न त ठूला ब्यानर थिए, न आकर्षक नारा। उनको अभियान व्यवहारिक एजेन्डामै केन्द्रीत थियो।
व्यवहारिक एजेन्डामा केन्द्रीत
श्रेष्ठको घोषणापत्रमा जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई सहज बनाउने उपाय, नेपाल जाने हवाई टिकटको मूल्यमा सहुलियत ल्याउने पहल, र जापानी भाषा सिकाइमा नेपालीहरूको पहुँच विस्तारजस्ता विषयलाई प्राथमिकता दिइएको छ।
‘ठूला नाराहरूले नेपाली समुदायका समस्याहरू समाधान हुँदैनन्,’ घोषणापत्र सार्वजनिक गर्दै श्रेष्ठले भने, ‘तत्कालीन आवश्यकता र यथार्थ बुझेर नै मैले यो योजनाहरु तयार पारेको हुँ।’
‘नेपाल हाउस’ निर्माणमा चासो
श्रेष्ठले एनआरएनए जापानमार्फत ‘नेपाल हाउस’ निर्माणको अवधारणालाई पनि प्राथमिकतामा राखेका छन्। यो संरचना जापानस्थित नेपालीहरूको साझा गन्तव्यका रूपमा विकास गर्ने उनको योजना छ।
पारदर्शिता र जवाफदेहिताको प्रतिवद्धता
झण्डै ६ वर्षअघि एनआरएनए जापानमा देखिएको आर्थिक अनियमितता सार्वजनिक गर्दै श्रेष्ठले पारदर्शिता र जवाफदेहिताको पक्षमा आफूलाई स्थापित गरेका थिए। आपत परेका नेपालीहरूको सहयोगमा अग्रसर हुने, स्पष्ट विचार र साहसी अभिव्यक्तिका कारण उनी जापानस्थित नेपाली समुदायमा लोकप्रिय छन्।
श्रेष्ठको उम्मेदवारीले जापानमा रहेका २ लाख ५० हजार नेपाली सदस्यहरूमा आशा र नयाँ सोचको तरंग ल्याएको छ। अध्यक्ष पदमा उनको प्रवेशले एनआरएनए जापानमा परिणाममुखी र समुदायमुखी नेतृत्वको अपेक्षा थप बलियो बनेको छ।
१ .
२ .
३ .
४ .
५ .