राधाकृष्ण देउजा
हाम्रो समाजमा अहिले मात्रै हैन धेरै अगाडिदेखि एउटा गलत चिन्तन व्याप्त छ कि आम मानिसले प्रहरीलाई जे जसरी, जेसुकै भन्दा पनि हुन्छ तर प्रहरीले चाहीँ जवाफमा हस हजुर, हो हो भन्ने वाहेक अरु केही भन्न मिल्दैन। चाहे आम मानिस, चाहे पत्रकार, नेता वा अन्य निकायका कर्मचारी हुन तिनीहरूमध्ये कतिपयले प्रहरीलाई हप्कीदप्की लगाउन पाउनु आफ्नो शान ठान्ने गरको छन्। यो अत्यन्त दुःखद, खेदजनक र चिन्तायुक्त कुरा हो तर पनि भइरहेको छन्।
हो प्रहरी समग्रतामा निक्कै अनुशासित छ, नम्र छ, भद्र छ। सभ्य र सु-सस्कारी पनि छ नेपालको प्रहरी। त्यसैले अनेकन गर्नु पर्ने कामको अनुपातमा अत्यन्त न्यून तलब सुविधाको बाबजुद पनि दिन/रात बिदा बार नभनी खटदै आएको कोही छ भने त्यो हो नेपाल प्रहरी।
जुनसुकै प्राकृतिक वा मानवीय संकटको समयमा पनि प्रहरीले आफूलाई चुनौती सामनाको पहिलो निकाय बन्न बाट चुकेको छैन, मर्न नै परे पनि उसले खटिन छोडेको छैन। यद्धपि सदैव आफ्नो संकटको सारथि बन्न प्रहरी नै खोज्ने हामीहरू चाहीँ प्रहरीहरू प्रति कृतज्ञ बन्न छोडेर सदैव कृतघ्न बन्ने गरको हो कि जस्तोदेखिन्छ। आखिर त्यस्तो किन? यो सवाल अब आफैंले आफैंसंग सोध्ने बेला भएन र?
हो हामीमध्ये कतिपयलाई कतिपय प्रहरीहरूदेखि प्रहरी प्रमुखको अनुहार नै मन नपर्ला। अझै आईजीपीको कुरा गर्दा कतिपयलाई भएको भन्दा अर्कै हुनुपर्थ्यो वा हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको हुन सक्ला। त्यो अत्यन्त स्वाभाविक हो। त्यस्तो हुँदा आफूलाई लागेको बोल्न, तथ्यमा टेकेर विरोध वा समर्थनमा आफ्नो मत राख्न पाइन्छ। तर के प्रतिष्पर्धाको चरणमा आफूले मन पराएर हुनुपर्ने भनेर वकालत गरेको भन्दा मन नपरेको वा उचित नलागेकोले बाजी मार्यो भन्दैमा हामी कोही व्यक्तिको विरुद्ध सदैव लाग्नुपर्छ त? बिल्कुल पर्दैन। त्यसो गर्नु उचित हो त? जरुर हैन।
तर फेरि त्यसो भन्दैमा आफूले प्रहरीको मूल नेतृत्व वा नेतृत्वको अन्य तहमा बढुवा हुन अनुचित ठानेको र सोही अनुसार धारणा राखेको मानिसले बढुवा पाएर काम गर्ने दौरान निजहरूबाट कमिकमजोरी भए भने बढुवा हुने बेला पनि विरोध गरेकोले शत्रुता साँधेको थियो भन्लान् भनेर के चुप लाग्नु पर्छ त? त्यो पनि पर्दैन। बरु भए गरेका कामको वस्तुगत मुल्यांकनको आधारमा जमेर समर्थन वा विरोध गर्न पाइन्छ।
तर विरोध गर्दै गर्दा व्यक्तिगत नभई विषयगत हुनु भने अनिवार्य हुन्छ। प्रहरी वा सरकारी सेवामा कार्यरत हुँदैमा कोही पनि हृदय विहिन हुदैनन्, उनीहरू भित्र पनि भावना जीवित हुन्छ। अनुचित हिसाबले आरोप लगाइएको अवस्थामा पनि उनीहरू महात्मा गान्धीकै शैलीमा प्रस्तुत हुन अनि भगवान बुद्ध जस्तै शान्त रहुन भन्ने चाहनालाई भने सदैव सही मान्न सकिंदैन।
आफ्नो मातृभूमि देश नेपालको प्रहरी संगठन सवल, सक्षम र सम्मानित हुनुपर्छ भन्ने मान्यता राख्ने मानिस भएकोले पंक्तिकार स्वयंले प्रहरी संगठन संग सम्बद्ध विभिन्न विषयमा कलम चलाउँदै आएको सर्वविदितै छ। त्यस दौरान स्वाभाविक रुपमा कतिपय अवस्थामा मूल नेतृत्वदेखि नेतृत्वका अन्य तहहरूमा भए गरेका बढुवा अनि आम सरुवाहरूका सम्वन्धमा आफूलाई लागेको लेख्ने बोल्ने गरेकै छु।
तर ति सबै कुराहरू गर्दै गर्दा निजी आग्रह पूर्वाग्रहभन्दा पनि देशको तत्कालीन अवस्थाले माग गरेको नेतृत्व शैली र तदअनकुलको योग्यता बोकेको को छ भन्ने विषयदेखि इमान्दारितामा निरन्तरता अनि योग्यता क्षमताको प्रयोग मार्फत प्राप्त सफलताले गर्दा आर्जित लोकप्रियतामा आधारित सर्वस्वीकार्यतालाई हेर्नुको अलावा जिम्मेवारीको माग अनुसार योग्यता भएको व्यक्तिले सरुवाका समयमा उचित जिम्मा पाए नपाएको विषयमा गहन विश्लेषण गर्दै प्रस्तुत गरेको छु। तर पनि मानिस हुँ, आफू बाट चाहीँ कहीं कतै मुल्यांकनमै चुक भएनन् होला भन्दिन तर मुल्यांकन गर्दै गर्दा नियतमा खोट राखेको छैन।
हो, त्यसो गर्दै गर्दा कतिपयले मलाई नै पनि कोही कसैको निकट ठान्ने अनि कसैको शत्रु मान्ने गरेको विषयको ज्ञान र कतिपयले सोही बुझाई अनुसारको व्यवाहार गर्ने गरेको महशुस गरेको छु। त्यति हुँदा हुँदै पनि कोही कसैप्रति अनुचित र अन्यायपूर्ण ढंगले आग्रहयुक्त टिप्पणी गर्ने गरेको छैन भलै सदैव प्राप्त तथ्य र लागेको सत्य लेख्दै आएको छु। आफूलाई लागेको लेख्दै गर्दा को रिसाउला भन्ने चिन्ता गर्ने गरेको पनि छैन अनि खुसी होला भन्ने आशा राख्ने गरेको पनि छैन तर जे गर्दा पनि प्रहरी हुन वा जोसुकै उनीहरूको पनि आत्मसम्मान हुन्छ भन्ने सत्य वोध गर्दै त्यसको ख्याल जरुर राख्ने गरेको छु। आगामी दिनमा पनि सार्वजनिक विषयमा लेख्दा निजी आग्रह पूर्वाग्रहलाई ठाउँ दिने छैन नै।
खास गरेर प्रहरीका सम्वन्धमा लेख्दै गर्दा म विशेष संवेदनशिल भएर लेख्दै आएको छु। उनीहरूको त्याग, वलिदान र समर्पणको म सदैव प्रशंसक हुँ र रही रहनेछु। मलाई लाग्छ कि हामी सबै जस्तै प्रहरी पनि पहिला मानिस हुन, त्यसपछि मात्रै उनीहरू प्रहरी हुन्। त्यसैले उनीहरूको मानवीय संवेदनाको ख्याल सदैव सवैले गरिदिनु पर्छ।
मैले सार्वजनिक लेखाइको अलावा कतिपय बेलामा केही प्रहरी अधिकृतहरू अनि केही प्रहरी प्रमुखहरूलाई उनीहरूको कार्यशैलीगत कमजोरीहरू प्रति असन्तुष्टि जनाएर सिधै मेसेज समेत पठाएको छु भने आफूले आलोचना गरेका तिनै प्रहरीहरूदेखि अन्य सार्वजनिक ओहोदाका पदाधिकारीहरूको कामको लागि निजहरूको परिवारका सदस्यहरूलाई जोडेर नानाथरी कुरा गरिएको विषयहरूको जमेर सार्वजनिक प्रतिवाद समेत गरेको छु। किन? किन कि म बुझ्छु कि सुरक्षाकर्मी वा सार्वजनिक ओहोदामा रहेर सेवारतहरूको परिवार हुनु भनेको समर्पणको निम्ति तयार हुनु हो। कतिपय जीवनको खुसि र पलहरू स्वयमसेवी रुपमा वलिदान गर्नु हो।
त्यसैले कुनै पनि राष्ट्रसेवक प्रहरी अधिकृतदेखि जवानहरू सम्मको कामको बारेमा टिप्पणी गर्दै गर्दा हामीमध्ये कसैले पनि उनीहरूले गरको त्याग, राष्ट्रसेवा गर्ने उसको प्रण अनि त्यसमा साथ दिने उनीहरूको परिवारको संकल्प अनि समय समयमा कतिपयले दिनु परेको वलिदान र सहादतलाई भुल्न किमार्थ हुदैन।
माथि नै उल्लेख गरेको छु कि राज्यकोषबाट तलब खाएर काम गर्ने जोसुकैलाई जस्तै प्रहरीहरूलाई पनि उनीहरूको कामका बारेमा सवाल उठाउन पाइन्छ। आवश्यकता अनुसार संसदीय समिति, विभिन्न आयोग र नियोगमा बोलाएर सोधपुछ गर्न पनि नपाइने हैन, जरुर पाइन्छ र त्यसरी बोलाइएकाहरू प्रश्नबाट भाग्न पाउँदैनन तर प्रश्न गर्नेहरूले जे पनि सोध्न पाइन्छ अनि जसरी पनि पाइन्छ भन्ने चाहीँ हुँदै हुँदैन।
सामान्य मानवीयताको ख्याल नराख्ने, आत्मसम्मानको ख्याल नराख्ने र जथाभावी बोल्दै सवाल गरियो भने अनुशासित प्रहरीको वर्दी लगाएको पात्र भित्रको मानिस जाग्छ र उसले आफ्नो आत्मसम्मानको रक्षार्थ लडछ र त्यसो गर्नु उसको अधिकार हो। तसर्थ प्रश्न सोध्नेहरूले उत्तर दिनेको प्रस्तुतिमा चित्त दुखाउनु भन्दा आफ्नै सवाल गर्ने शैलीलाई संस्कारी बनाउनु पर्छ, कमसेकम सामान्य मानवीयता भुल्न हुदैन।
अनि कतिपय अवस्थामा पत्रकार, नेता वा कोही मानिसहरूले प्रहरी लगायत अन्य कतिपय राजकीय निकायमा कार्यरत सार्वजनिक महत्वको पद धारण गरेकाहरूलाई फोन गर्ने, अनेकन अन्टसन्ट सवाल गर्दै उत्तेजित पार्ने र केही बोल्न बाध्य पार्ने अनि त्यो सिंगो संवादको रेकर्ड गरेर या त बार्गेनिङ गर्दै आफ्नो स्वार्थ पूरा गर्ने वा अनेकन खण्ड-खण्डको रिल बनाएर केही पात्रलाई बदनाम बनाएर आफूलाई धनि बनाउनेदेखि अरु कतिपयको स्वार्थ पूर्त गराउने काम पनि हुने गरेका छन्।
त्यसो गराइनु वा गर्नु दुवै गलत हुन तर विडम्वना कुनै न कुनै रुपमा कोही न कोही बाट त्यस्तो काम भइरहनेछ। त्यसैले त्यस्तो भए गरेको अवस्थामा त्यही नियोजित प्रायोजित रेकर्ड सुनेर मात्रै कोही कसैको बारेको धारणा बनाउने वा बदल्ने गर्नु भन्दा आफैंले अलिक मेहेनत गरेर घटनाको चुरो कुरो बुझ्ने कोशिस गर्नुपर्छ। सत्य तथ्य बुझेर मात्रै धारणा बनाउनु पर्छ। गलत नै भएको भए विरोध गर्नुपर्छ र गलत जस्तो बनाइएको भए प्रतिवाद गरिदिनु पर्छ।
हो, स्वाभाविक रुपमा कोही कसैले बनाउन खोज्दैमा कोही हिरो वा जीरो हुन सक्दैन र हुनुहुदैन। जुनसुकै मानिसको इमान्दारिता, योग्यता, क्षमता उसको भूमिकामा देखिन्छ र हामी सबैले तथ्यमा आधारित मुल्यांकन गर्न छोडन हुदैन चाहे त्यो हाम्रो आफ्नै होस वा कुनै प्रहरीको। तर हामीले हाम्रो आफ्नो निष्कर्षहरू निर्माण गर्दैगर्दा पनि एउटा कुरा भुल्नु हुदैन कि कोही पनि मानिस सबै भन्दा पहिला मानिस हो, त्यसपछि मात्रै प्रहरी, सेना, निजामती कर्मचारी वा अरु केही हो।
त्यसैले उल्लेखितमध्ये कुनै पनि क्षेत्रमा रहनेहरूले पनि आफ्नो आत्मसम्मानमा ठेस लाग्दा त्यसको प्रतिवाद जमेर गर्छ, आफ्नो परिवार माथि आक्रमण भयो भने त्यसको प्रतिवाद गर्छ र गर्न पाउनु पर्छ। हो अरु सबै पेशा भन्दा प्रहरीमा रहनेहरू अनुशासित हुन्छन, नम्र अनि भद्र जरुर हुन्छन तर उनीहरू कम्जोर जरुर हुदैनन। झन त्यत्ति कम्जोर त हुँदै हुन्नन कि उनीहरूको परिवार, संगठनका सदस्यदेखि नेतृत्वसम्मलाई अनुचित रुपमा मानमर्दन गर्दा पनि चुपो लागुन्।
अत; हामी सबैले सदैव यो सत्य याद गर्नुपर्छ कि प्रहरी पनि मानिस हुन, अरु सबै मानिसहरूमा जस्तै उनीहरूको पनि आत्मसम्मान हुन्छ। त्यसैले आफ्नो आत्मसम्मान माथि प्रहार हुँदै गर्दा त्यसको प्रतिवाद गर्ने कुरा प्रहरीले पनि गर्छ किन कि पहिला मानिस नभई कोही प्रहरी हुन सक्दैन।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया