सोमबार, १३ अप्रिल २०२६

अमेरिकाले होर्मुज स्ट्रेट ‘कब्जा’ गर्नसक्छ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

इरानले आफ्नो संसदमा तेल आपूर्तिको सामुद्रिक मार्ग होर्मुज स्ट्रेटबाट आवातजावत गर्ने पानीजहाजहरूमाथि शुल्क लगाउने र ‘दुश्मनका जहाजहरूलाई त्यो बाटो प्रयोग गर्न नदिने’ प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त मार्गमा अमेरिकी नाकाबन्दीको घोषणा गरेको छन्।

योसँगै यी दुई देशबीच भएको अस्थायी युद्धविरामपछि केही सहज भएको विश्व तेल बजारमा फेरि अनिश्चितता छाएको छ र कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। युद्धविराम र वार्तालाई सँगसँगै अघि बढाएका अमेरिका र इरानबीच कुनै पनि विषयमा ठोस सहमति हुन सकेको छैन। पाकिस्तानको मध्यस्थतामा भएको यी दुई राष्ट्रबीचको वार्ता बिनाकुनै सहमति सकिएको छ। ४० दिनसम्म युद्ध लडेपछि कम्तीमा उनिहरू वार्तामा बस्न त सहमत भए तर त्यसले कुनै परिणाम दिन सकेन। आफ्ना सबै परमाणु कार्यक्रमहरू तत्कालैदेखि बन्द गर्ने अमेरिकाको प्रस्तावलाई इरानले ठाडै अस्विकार गर्‍यो अनि वार्ता अघि बढ्न सकेन। इरानी संसदका सभामुख र अमेरिकी उपराष्ट्रपति जेडी भेन्सहरूको प्रतिनिधि टोली इस्लामावादमा लगभग २० घण्टासम्म छलफलमा बसेका थिए।

वार्ता सफल हुने संकेत नदेखिएपछि ट्रम्पले आइतबार बिहानैदेखि लगातार सामाजिक सञ्जालमा विभिन्न सन्देशहरू लेखिरेहका थिए। तीमध्ये विश्वबजारलाई सिधा प्रभाव पार्ने एउटा सन्देश थियो- होर्मुज स्ट्रेटमा नाकाबन्दी।

इरानको प्रस्तावअनुसार उसलाई ‘टोल ट्याक्स’ तिर्ने देशका जहाजहरूलाई अमेरिकाले अघि बढ्न दिनेछैन। त्यसको जिम्मेवार उनिहरू स्वंय नै हुने भन्दै ट्रम्पले उक्त सामुद्रिक बाटोमा नौसेना तैनाथ गर्ने पनि जनाएका छन्। उनले उक्त बाटोलाई अमेरिकी नियन्त्रणमा लिनका लागि सामुद्रिक बारुदी सुरुङ नष्ट गर्ने अन्तिम तयारीमा जुटेको भन्दै अमेरिकी सैनिकले चाँडै नै त्यो काम फत्ते गर्ने संकेत पनि दिएका छन्। यसको मतलव अब फेरि चाँडै नै अमेरिका-इरान युद्ध सुरु हुन पनिसक्छ।

इरानले होर्मुज स्ट्रेटमा पानीजहाजहरूसँग शुल्क उठाउन संसदमा गरेको प्रस्तावलाई ट्रम्पले गैरकानुनी भनेका छन् र त्यो शुल्क नतिर्न उनले आपूर्तिकर्ता देशहरूलाई सिधा चेतावनी दिएका छन्।

करिब डेढ महिनअघि इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व अशान्त भयो। युद्धरत यी देशहरूमात्रै होइन त्यसको छायाँले पूरै विश्व नै ढाकियो। इरानले आफूमाथि भएको आक्रमणको जवाफमा सिधा अमेरिकामाथि आक्रमण गरेन तर उसले अमेरिकासँग ब्यापार साझेदारी गरेका खाडीका सबैजसो राष्ट्रहरूमा उसले निरन्तर आक्रमण गरिरह्यो। त्यस एकप्रकारले अमेरिकामाथि उसको एकदमै प्रभावकारी दबाव थियो।

त्योसँगै इरानले आफ्नो नियन्त्रणमा रहेको होर्मुज स्ट्रेटलाई आफ्नो परमाणुभन्दा पनि शक्तिशाली हतियारका रुपमा प्रयोग गर्‍यो जसका कारण विश्व इन्धन बजारमा हाहाकार सुरु भयो। यसरी अमेरिकालाई सम्झौताका लागि अघि सर्न इरानले बाध्य पारिदियो। पर्सियाको खाडीमा रहेको यो साँघुरो जलमार्ग लगभग आधाभन्दा धेरै इन्धनका लागि पूरै विश्वबजार निर्भर छ।

विश्वव्यापी ऊर्जा आपूर्तिमाथि धम्की दिएर इरानले अमेरिकालाई उसको कार्यशैली बदल्न बाध्य पार्‍यो। अन्तत: उक्त जलमार्गको पुनर्सञ्चालन र सुरक्षालाई अमेरिकाले युद्धविराम सहमतिको प्राथमिक सर्त बनाउनुपर्‍यो।

आफूमाथि हमला गरिए सो जलमार्ग बन्द गरिदिने बारम्बार धम्की दिँदै आए पनि यसअघि इरानले कहिल्यै त्यसरी पूर्ण अवरोध गरेको थिएन। सन् १९८०-१९८८ को इरान-इराक युद्धका समयमा पनि तेल ट्याङ्करहरूमाथि आक्रमण गरिए पनि जलमार्ग बन्द भएको थिएन।

अहिले कतिपय इरानी कमान्डर तथा अधिकारीहरू सो जलमार्गमाथि इरानको नियन्त्रणको भविष्यबारे छलफल गरिरहेका छन्। इरानको संसद् खास गरी उसको राष्ट्रिय सुरक्षा आयोगले मस्यौदा गरेको प्रस्तावमा जलमार्ग भएर आवतजावत गर्ने पानीजहाजहरूबाट शुल्क उठाउने विषय छ।

उक्त प्रस्तावको एउटा मुख्य प्रावधानमा ‘दुस्मनका पानीजहाजलाई आवतजावत गर्न दिइने छैन’ भनिएको छ। वैकल्पिक रूपमा इरानले त्यहाँबाट आवतजावतको सेवा उपलब्ध गराउने भनिएको छ जसबमोजिम पानीजहाज कम्पनीहरूले इरानी मुद्रामा शुल्क भुक्तानी गर्नुपर्छ अनि इरानी ब्याङ्क खाता खोल्नुपर्छ। आफूले ढुवानी गरिरहेको सामग्री घोषणा गर्नुपर्ने पनि त्यसमा उल्लेख छ।

यो निकै जटिल प्रस्ताव हो र यसलाई मतदानमा लगिएको छैन।

यदि इरानले होर्मुज जलमार्गबाट आवतजावत गर्ने पानीजहाजलाई शुल्क लगायो भने के अमेरिका तथा उसका पश्चिमा अनि क्षेत्रीय साझेदारहरूले स्वीकार गर्लान् कि नगर्लान् भन्ने प्रश्न टड्कारो छ। पछिल्ला प्रतिक्रियाहरूले त्यसको चर्को विरोध हुने देखाएको छ किनकि स्वतन्त्र आवतजावतलाई अमेरिका तथा उसका साझेदारले केन्द्रीय सिद्धान्त मान्छन्। अनि कुनै पनि शुल्क लिने व्यवस्थाले खतरनाक नजिर स्थापित गर्न सक्छ।

यदि इरान सफल भए त्यसले महत्त्वपूर्ण रणनीतिक र प्रतीकात्मक विजय भएको देखाउने छ। यसले विश्वको सबभन्दा महत्त्वपूर्ण सामुद्रिक नाकामा उसको नियन्त्रण क्षमता प्रदर्शित गर्ने छ।

तर यसले अमेरिकी साझेदारहरू, नेटो सदस्यहरू तथा क्षेत्रीय शक्तिहरूलाई एकजुट गराइदिने र त्यसले इरानविरुद्ध समन्वयात्मक ढङ्गको कूटनीतिक, आर्थिक वा सैन्य प्रतिक्रिया निम्तने जोखिम पैदा गर्न सक्छ।

बिबिसीकाे सहयाेगमा

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!