महेश नेपाली
                                आजका दिनसम्म भेरीमा धेरै पानी बगिसकेको छ। तर पानीको हिसाब कसैले राखेन। बगी जाने पानीको हिसाब राख्न सायद सम्भव भएन होला र कसैले राखेन पनि। तर २०७७ साल यस्तो साल बनेर आयो- जुन साल भेरीमा पानी मात्र बगेन, पानीसँगै रगत पनि बग्यो।
हरेक वर्ष भेरीका बगरले कहिले वर्षातको धमिलो पानी त कहिले हिउँदको निर्मल पानीले अनुहार धुँदै आएका थिए। तर, अघिल्लो वर्ष भने भेरीका बगरहरुले जेठ १० का दिन त्यसलाई ब्रेक गरेर रगतले मुख धाेए। सारा संसारको ध्यान भेरीका बगरतिर केन्द्रित भयो।
लाग्थ्यो- भेरीका बगर अब बगर मात्र रहेनन्, ती त धर्मशास्त्रमा भनिएकी रक्तभोगी काली नाग भइसके। जसको अुनुहार हजारौं बलिको रगतले लत्पतिएको छ। तिनलाई भेरीकै पानीले हजारौं वर्षसम्म पखाल्दा पनि भेरीका बगरहरु रातै हुने छन्।
जेठ महिनाको धापिलो गर्मीले तराई आक्रान्त थियो। पहाडका देउरालीहरुमा पलाएका पालुवाहरु किशोरावस्थातिर यात्रारत थिए। चिसोले जाम भएको हिमाल भने भर्खर चलमलाउन लागेको थियो। भेरीका बगर रगतले लत्पतिएको समाचार एकाएक यसरी आयाे- हामी नेपाल भन्ने देशको न तराईमा छौं, न पहाडमा छौं, न त हिमालमा नै। हामी त सामुन्द्रिक तटमा पो छौं, जहा कुनै संकेत नै नदिइ सुनामी आइरहेको छ। त्यो सुनामीले ल्याएको खबर थियो, ‘अन्तर जातीय प्रेमका कारण नवराज वि.क सहित छ जनाको हत्या।’
विपरीत लिङ्गप्रति आकर्षण हुने र भावनात्मक उडान भर्ने मनस्थिति भएको अवस्था, किशोरावस्था हो। यसै अवस्थामा नवराज र सुस्माको प्रेम सम्बन्ध भयो। समाजको संस्कार, संस्कृति, अर्थ, राजनीतिलगायतका कुराहरुमा ध्यान दिन आवश्यक नठान्ने उमेरमा उनीहरुको प्रेम सम्बन्ध झाँगियो। आफूलाई जे मनपर्छ त्यसैमा लागिपर्ने किशोरावस्थामा रहेका उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहेपछि नवराज र उनका साथीहरु जेठ १० गते जाजारकोटबाट भेरी पार गरी रुकुम पश्चिमको सोती पुगे।
उनीहरुको आगमन सोतीमा हुना बित्तिकै सिङ्गो समाज एकसाथ जर्याकजुरुक उठ्यो। उनीहरुमाथि घरेलु हतियारले सुसज्जित समाजले सांघातिक हमला गर्यो। मृतकका सुनिएका अण्डकोश, भाँचिएका हातखुट्टा र फुटेका टाउकाहरुका दृश्यहरु अमेरिकाले सिरिया र रुसले युक्रेनमाथि हमला गर्दा देखिएका ददर्नाक दृश्यभन्दा कम थिएनन्। उक्त हमलामा परेका नवराजहरुको रगतले नै भेरीका बगर रक्ताम्य भए।
नवराज र सुस्माको प्रेम सम्बन्ध किशोरावस्थामा पुगेका आम किशोर-किशोरीहरुको जस्तै थियो। तर पनि नवराज र उनका साथीहरुको हत्या भयो। भावनात्मक उडान भर्ने उमेरमा प्रेम विवाह गर्न अरुलाई छुट दिएको त्यो समाजले नवराज र सुस्मालाई अन्तरजातीय विवाह गर्ने छुट दिएन। उल्टो डोरीले हात पछाडि बाँधेर नदीमा फालिएका एकएक शवहरु केही दिनसम्म लगातार देखाएर घृणित जात व्यवस्थाले ग्रसित समाजले भनिरह्यो, ‘खबरदार! जसले जात व्यवस्थामाथि धावा बोल्छ, उसले भोग्ने नियति भनेको यिनीहरुको जस्तै हो।’
यस्तै खाले जातीय हवला नेपाली समाजमा योभन्दा अगाडि पनि नभएका त होइनन्। तर, यस हवलाले मानवीय सम्वेदना भएकाहरुको मथिङ्गल यसरी हल्लादियो कि, मानौँ नौ रेक्टर स्केलको भुकम्प आइरहेको छ र नेपाली समाज जोरजोर हल्लिरहेको छ। यस्ता घटनाहरुको सुरुवात त छोराले अन्तरजातीय बिहे गरेका कारण ज्यान गुमाएका दैलेखका सेते दमाइको घटना होस् वा धारामा पानी भरेको निउँमा मृत्युवरण गरेकी कालीकोटकी मना सार्की घटना होस् योभन्दा अगावैदेखि भएको हो।
आजसम्मका घटनाहरु हेर्ने हो भने घटाहरुको फेरिहस्ती लामै बन्छ। जुन फेरिहस्तीले नेपाली समाजलाई अँध्यारो खाडलतिर धकेन्छ।
ज्ञान, विज्ञानको फराकिलो क्षितिजलाई दक्षिण एसियामा अझ विशेष गरी भारत र नेपालले बहिष्कार गरे। जात व्यवस्थाको आधारमा समाजलाई चलाउन उद्धत रहेका शासकहरुका कारण भारतमा जातीय विभेदकै कारण रोहित भेमुलाहरुको हत्या भइरहेको छ भने नेपालमा कैयौँ नवराज विक, सेते दमाइ, अजित मिजार र मना सार्कीहरुको हत्या भइरहेको छ।
आजभन्दा करिब ३५ सय वर्षअघि ऋग्वेदमा लेखिएको वर्ण व्यवस्थालाई आधार मानेर चलेको नेपाल र भारतको समाजले जातको आधारमा मानवलाई अमानवीय व्यवहार गरिरहेको छ। वर्ण व्यवस्थाले भन्छ, ‘विराट पुरुषको पैतालाबाट जन्मिएको शुद्रले त ब्रहामण, क्षत्री र वैश्यको सेवा गर्ने हो। अरुको सेवा गर्न जन्मिएको मान्छेले अरुसँग बराबर हुन खोज्नु नै बर्बादीको सुरुवाती हो।’ यही कारणले जातीय विभेदका घटनाहरु घट्नमा बल पुगिरहेको छ।
जब जात व्यवस्थाको आधारमा बनेको हालको राजनीति सकिने छ, जब जात व्यवस्थाको आधारमा बनेको असमानतालाई स्वाभाविक ठान्ने, बहिष्करणलाई कर्तव्य मान्ने र भेदभावलाई पवित्र मान्ने संस्कृति भत्किने छ। जब जात व्यवस्थाको आधारमा जमिन वा पुँजी नहुने अर्थतन्त्र भत्किने छ, जब भाग्यवादमा बनेको दर्शशास्त्रलाई भौतिकवादी दर्शनशास्त्रले विस्थापित गर्ने छ, तब जातीय विभेदका घटनाहरु रोकिने छन्।
जात व्यवस्थाले गर्दा घटित घटनाहरुले जात व्यवस्थाकै मुकुन्डो उतारिने क्रम सुरु भइसकेको छ। आज जात व्यवस्थाका बारेमा भइरहेका छलफल र बहसहरु यसैका लागि हुन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया